Ads

बाटो सहज भएपछि भाडामा बस्ने समस्या हट्दै


चितवन ।  भरतपुर २० भीमनगरका हेमराज रिमालले एक दशकअघि माध्यमिक तह घर नजिकैको विद्यालयबाट पूरा गरेपछि उच्च शिक्षा अध्ययनको लागि सदरमुकाम भरतपुरमा कोठा भाडामा लिएर बस्न थाले । अहिले करिब १८ किलोमिटर दूरीमा रहेको भीमनगरबाट सदरमुकाम भरतपुर आउन घण्टौँ लाग्ने गर्दथ्यो किनकी बाटो गतिलो थिएन । उनले आठ–दश वर्षसम्म सदरमुकाममा भाडाको कोठामा बिताए ।

अध्ययनसँगै पत्रकारितामा होमिनुभएका उहाँ हाल घरबाटै आवजावत गर्नुहुन्छ । उनले भने, “अहिले बाटो सरर भएको छ बाइकमा १५–२० मिनेटमा घरबाट भरतपुर पुगिहालिन्छ सार्वजनिक गाडीमै गए पनि आधा घण्टा हो । कोठामै बस्नुपर्ने समस्या छैन”,  उनले भने, “विकासमा भनेको बाटो प्रमुख हुँदोरहेछ ।”

हाल भरतपुर महानगरपालिकाभित्रका सडक कालोपत्रे भएपछि मुख्य बजार सदरमुकाम क्षेत्रमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।  सात वर्षअघि जनप्रतिनिधि आएसँगै यहाँका सडकको स्वरुप फेरिएको हो ।

सदरमुकाम भरतपुर–१० मा रहेको डेरीको खुद्रा बिक्री केन्द्रमा काम गर्दै आउनुभएका भरतपुर–२२ पटिहानीका उत्तम अधिकारी बिहानै ६ बजेनै पसल खोल्न आउँछन् । भरतपुर–५ मा रहेको डेरी उद्योगमा हाजिर गरेर सदरमुकाम आउन विगत एक दशक अघिसम्मको कुरा असम्भव हो । तर आफ्नो सवारीमा १६ किलोमिटर बिहान दूरी पार गर्न उनलाई खासै समय नलाग्ने बताउँछन् ।

सदरमुकाममा रहेको कलेजमा उच्च शिक्षामा अध्ययनरत भरतपुर–२६ ज्योतिनगरका किरण न्यौपाने बिहानी कक्षा भेट्न आधा घण्टा गाडीमा यात्रा गरी सदरमुकाम आइपुगेका छन् । उनिजस्तै पश्चिम चितवनबाट सदरमुकाम आउने एक गाडी विद्यार्थी आजकाल घरबाटै सदरमुकाम अध्ययनका लागि आउने न्यौपाने बताउँछन् ।

उनले भने, “गाडीमा साथीहरु ठाउँठाउँबाट चढ्ने झर्ने गर्दा पनि खासै समय लाग्दैन ।” कलेजमा बिहानी कक्षा सकाएर खाना खान घरैमा पुग्ने उनले बताए । उनले भने, “बाटो गतिलो हुन्थेन भने कि त यतै पढ्नुपथ्र्यौ कि त कोठा लिएर भरतपुरमै (सदरमुकाम) बस्नुपर्दथ्यो ।”

हाल भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडका कालोपत्र भइसकेको छ भने बाँकी रहेको एक सय किलोमिटर सडक कालोपत्रको चरणमा रहेको भरतपुर महानगरपालिकाका इञ्जिनियर साकार लामा बताउँछन् । महानगरभित्रको सडकको लम्बाइ एक हजार किलोमिटर रहेकामा नौ सय किलोमिटर सडक कालोपत्र गरिसकिएको उनको भनाइ छ । महानगर प्रमुख रेनु दाहालको नेतृत्वपछि सात सय किलोमिटर सडक कालोपत्र भएको उनले बताए ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल आफू पहिलोपटक महानगर प्रमुखमा निर्वाचित भएपछि सहरी विकास मन्त्रालयमार्फत ‘स्मार्टसिटी’ पूर्वाधारका लागि विनियोजित रु दुई अर्बबाट १७ वटा सहरी सडक निर्माण गरिएको बताए । उनका अनुसार महानगरभित्र मङ्गलपुर–शिवनगर, पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ सङ्घीय सरकारको बजेटमा निर्माण भएको छ ।

महानगरको चक्रपथ ८० किलोमिटर छ, जसमध्ये ५५ किलोमिटर कालोपत्र भइसकेको छ । तीन तहका सरकारको साझेदारीमा यो सडक बनेको हो । उनले गाउँका सडक चौडा र कालोपत्र गरेपछि स्थानीय प्रत्यक्ष लाभान्वित भएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू