काठमाडौं । सरकारी मुख्यालय सिंहदरबारको गेटमा मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ । कार्यालयबाट आफ्नो निवास अनामनगर जाँदै गरेकी सुब्बालाई बिहीबार अपरान्ह मोटरसाइकलले सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिएकोमा उनको मृत्यु भएको हो ।
द्रुत गतिमा रहेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बालाई तत्कालै उपचारको लागि बागबजारमा रहेको मोडल अस्पताल लगिएको थियो । उपचारका लागि लगिएको केही बेरमै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
उनी २०६९ मा अधिकृत पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन् । उनले इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुख समेत भएर काम गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्