Ads

मध्यपहाडी लोकमार्गः धारापानी–झिनडाँडाखण्डमा स्तरोन्नति सुरु


म्याग्दी । धवलागिरी गाउँपालिका–७ धारापानी देखि धारापानी–ताकम–शिवाङ–झिनडाडासम्मको सडक स्तरोन्नति थालिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना सडकअन्र्तगत धवलागिरी गाउँपालिकाको धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलको काम सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु। ५ करोड बिनियोजन गरेको यस सडकका लागि रु। २५ करोड बराबरको बहुबर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चिता गरेको थियो ।

प्रतिस्पर्धा मार्फत आयोजना निर्माणका लागि छनौट भएको निर्माण कम्पनी रामसागर – बिएस धौलागिरि जेभीले संयुक्त सर्वेक्षणको काम सकेर सडक फराकिलो बनाउन कार्यक्षेत्रमा परिचालन भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले जानकारी दिनुभयो । चार किलोमिटर लामो यो सडक स्तरोन्नति गर्न उक्त कम्पनीले रु। १४ करोड ६१ लाख ६१ हजारमा गत जेठ २० गते सडक विभागसँग सम्झौता गरेको छ ।

म्याग्दीबाट ढोरपाटन हुदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो हुने भएकाले यसलाई प्राथमिकता दिइएको गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बताए ।

यो सडक आयोजनाअन्तर्गत झिनडाडादेखि मुनातर्फ हालै ग्राभेल भएको छभने दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा रु। एक अर्ब बजेट विनियोजन भएको उनले जानकारी दिए । हाल मरेनीसम्म बनेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरि थप रु। ६ करोड ५० लाख विनियोजन भएको जुग्जालीले बताए ।

वि।स। २०६६ मा धारापानीमा पुगेको सडक स्तरोन्नति गर्नका लागि स्थानीयले जग्गा उपलब्ध गराउने सहमति गरेका टोल सुधार समितिका संयोजक रिम बहादुर थापाले बताए । धारापानीका अगुवा किरण थापाले ८ मिटर फराकिलो सडक बनाउन जग्गा दिन सबै जग्गाधनी सहमत भएका बताए ।

Ads

सम्बन्धित पोष्टहरू