Ads

‘बिचौलियाका कारण दुग्ध किसान समस्यामा’


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले बिचौलियाले गर्दा वास्तविक दुग्ध किसान भुक्तानीको समस्यामा परेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयमा भएको कृषि समितिको बैठकमा आज उनले दुग्ध विकास संस्थानका केही कर्मचारीको दादागिरीका कारण समस्या समाधान गर्न जटिल भएकोसमेत सुनाए ।

उनका अनुसार संस्थानमा नौ सय कर्मचारी छन् जसमा छ सय स्थायी र तीन सय करारका छन् । करारका कर्मचारीले राम्रोसँग काम गरिररहेको भए पनि स्थायी कर्मचारीमा दादागिरी प्रवृत्ति देखिएको उनको भनाइ छ । “कहीँ नभएको जात्रा दुग्ध विकास संस्थानमा देखिएको छ”, उनले भने, “अब एक–दुई महिनाभित्र म सुधार गर्छु । यसका लागि ठूलै मूल्य चुकाउन परे पनि चुकाउँछु ।” बैठकमा उनले किसानलाई न्याय दिन संस्थानका कर्मचारी सुधार्न जरुरी रहेको बताए। उनले मल वितरण प्रक्रियामा केही समस्या भए पनि यो पटक रोपाइँ गर्न मल अभाव नहुने जानकारी दिए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागद्वारा कृषिमन्त्रीसमक्ष ‘ध्यानाकर्षण पत्र’ बुझाइएको थियो । विभागका प्रमुख एवं पुर्व राज्यमन्त्री जितु गौतमले ध्यानाकर्षण पत्र बुझाउँदै किसानको हितमा उल्लेख गरिएका बुँदा छिट्टै कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

ध्यानाकर्षण पत्रमा मन्त्रीलाई सुझावसहित १५ बुदे सुझाव पेस गरिएको छ । बैठकमा उपस्थित सांसदहरुले किसानको राहत र कृषि सुविधाका बारेमा विभिन्न जिज्ञासा र प्रश्न राखेका थिए । कृषि मन्त्रालयका सचिव दीपककुमार खरालले किसानलाई मलको अभाव नभएको तर स्थानीय तहमा वितरणको प्रक्रिया अलि जटिल भएकाले समस्या आएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू