काठमाडौं । कुमारी आमाको रुपमा चर्चामा आएकी निहारिका राजपूतको छोरा र बलात्कारका आरापित शिवराज श्रेष्ठको डीएन म्याच (मिलेको)भएको छ । उच्च अदालत जनकपुरको आदेशअनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा दुवै जनाको डीएनए परीक्षण गरिएकोमा रिपोर्ट मिलेको जनाइएको छ ।
लामो समयदेखि निहारिका राजपुतले आफ्नो छोरा शिवराज श्रेष्ठको भएको भन्दै डीएनए परीक्षण गर्नुपर्ने माग गर्दै आएकी थिइन् । उनी पछिल्लो समय काठमाडौंमा धर्ना बस्नेदेखि आत्मदाहसम्मको प्रयास गरेकी थिइन्। उनी शुक्रबार पनि आन्दोलन गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन् ।
निहारिकाले आरोपित गरेका शिवराज श्रेष्ठलाई प्रहरीले गत साउन ३१ गते पक्राउ गरेको थियो । उनी २४ दिन प्रहरी हिरासत बसेर छुटिसकेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई १ हजार धरौटीमा छाडेको थियो ।
त्यसलगत्तै उनी डीएनएका लागि उच्च अदालत जनकपुरमा भदौ २३ मा उपस्थित भएका थिए। त्यसपछि अदालतले डीएनए परीक्षण प्रक्रिया उच्च सरकारी वकिल कार्यालयबाट अघि बढाउन भनेको थियो ।
प्रतिक्रिया दिनुहोस्