बनेपा । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको मतदाता नामावलीप्रति असन्तुष्टी जनाउँदै नेपाल प्रेस युनियन काभ्रेले पत्रकार महासंंघ काभ्रेको कार्यालयमा तालाबन्दी गरेको छ । महासंघले सार्वजनिक गरेको नामावली नसच्याइ, सदस्यताको न्यायपूर्ण टुंगो नलगाई साधारणसभा, अधिवेशनसहितका कुनै पनि प्रक्रिया अगाडी नबढाउन युनियनले चेतावनीसमेत दिएको छ ।
विधान बमोजिम जिल्ला शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको मतदाता नामावाली आफूलाई मान्य नभएको भन्दै युनियन काभ्रेले तालाबन्दी गरेको हो । सक्रिय पत्रकारहरुलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको युनियन काभ्रेको ठहर छ ।
महासंघको विधान र महाधिवेशनको म्यान्डेड अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट नामावली तयार गरी सार्वजनिक गरिएकाे भन्दै प्रेस युनियन काभ्रेले यसलाई मान्य नहुने जनाएको छ । विधान, विधि, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियनले मागसमेत गरेको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले सर्वसम्मतरुपमा टुंगो लगाएर प्रदेश र केन्द्रमा पठाएको नयाँ सदस्यतासमेत स्विकृत गरी कृयाशील पत्रकारहरुको सदस्यता पाउने हक सुनिश्चित गर्न पनि युनियनले अनुरोधसमेत गरेको छ । युनियनको माग विपरित अधिवेशन / साधारणसभासहितका कुनै पनि प्रक्रिया अगाडी बढाएमा सोबाट उत्पन्न हुन जाने परिस्थितिको जवाफदेही स्वयं महासंघ नै हुनेसमेत युनियनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्