काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सचिव लेखराज भट्टले राष्ट्रिय समाचार समिति ९रासस०मा जारी तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् ।
गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकन गदै पूर्वमन्त्रीसमेत रहेका नेता भट्टले यो व्यवस्थामा केही भएन भन्नेका लागि प्रदर्शनीले राम्रो जवाफ दिएको बताए।
दुर्गम क्षेत्रका मानिसलाई बिरामी भएका बेला गणतान्त्रिक व्यवस्थाले नै हेलिकप्टरबाट उपचारका लागि लैजाने व्यवस्था गरेका जस्ता सकारात्मक सन्देश दिन प्रदर्शनी सफल भएको उनले बताए। “यहाँ गेटा मेडिकल कलेजजस्ता ठूला संरचनादेखि उच्च पहाडी क्षेत्रमा सडक पहुँच, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि पूर्वाधारलगायत तस्बिर रहेको प्रदर्शनीले नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल छ । यो गणतन्त्रमा केही भएन, विकल्प खोज्नुपर्छ भन्नेका लागि पनि यो गतिलो जवाफ हो”, सचिव भट्टले भने ।
सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री झपट बोहराले तस्बिरमार्फत राससले जीवन्त इतिहास देखाउन सफल भएको प्रतिक्रिया दिए । व्यवस्था परिवर्तनपछिका उपलब्धि देखाउन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी परिचालन, छिमेकी तथा अन्य मित्रराष्ट्रसमेतको सहयोगमा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनासँग सम्बन्धित तस्बिर समावेश छन् । विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएको संरचनाको पुनःनिर्माण, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा राससबाट विभिन्न समयमा सम्प्रेषित ९५ तस्बिर प्रदर्शनीमा राखिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्