Ads

श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण


म्याग्दी । मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा सोमबार बेनीमा आयोजित कार्यक्रममा प्राध्यापक डा कर्णबहादुर बानियाँ र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले श्रष्टा बानियाँलाई नगद रु २५ हजार, कदरपत्र प्रदान गर्नुका साथै दोसल्लो ओढाएर सम्मान गरे ।

समाजसेवी सूर्यनारायण श्रेष्ठको स्मृतिमा उनका परिवारले स्थापना गरेको संस्थाले हरेक दुई–दुई वर्षमा नेपाली लोक संस्कृति, कला र साहित्यको श्रीवृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई सो पुरस्कार अर्पण गर्दै आएको छ । विसं २०८० को पुरस्कार बानियाँलाई प्रदान गरिएको हो ।

श्रष्टा बानियाँद्वारा लिखित महारानी उपन्यासले २०७८ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । विसं २०४८ मा म्याग्दी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका बानियाँले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानस्वरुप पुरस्कृत गरिएको सूर्यनारायण पुरस्कार संस्थाका सचिव अजयमिलन श्रेष्ठले बताए ।

बानियाँले ‘ऐतिहासिक पर्वत राज्य–२०६५’, मृत्य संस्कार–२०७५, महारानी २०७६, मौज्याह निबन्ध सङ्ग्रह २०७७, माकुराको पुनर्जन्म २०७८, चौबिसी राज्य पर्वत २०७९, पुला र पुलस्त्य पुस्तक लेख्नुभएको छ । ऐतिहासिक विषयसँग सम्बन्धित बानियाँका पुस्तकमा म्याग्दीको सामाजिक, राजनीतिक, आर्थिक, भौतिक, सांस्कृतिक, सामरिक अवस्थालाई चित्रण गर्दछ । संस्थाले २०४९ सालदेखि हालसम्म १८ जनालाई पुरस्कार प्रदान गरेको छ ।

भैरवबहादुर श्रेष्ठ ९२०४९०, टीकाबहादुर श्रेष्ठ ९२०५००, दीपबहादुर खड्का ९२०५२०, धनकुमारी थापा ९२०५३०, रत्नप्रसाद श्रेष्ठ ९२०५४०, ठाकुरप्रसाद पराजुली ९२०५६०, वीरबहादुर कार्की ९२०५८०, खड्ग गर्बुजा ९२०६००, होमनाथ सुवेदी ९२०६२०, लक्ष्मीप्रसाद श्रेष्ठ ९२०६४०, अबिरकुमार श्रेष्ठ ९२०६६०, ध्रुवलाल शर्मा ९२०६८०, अङ्गद श्रेष्ठ ९२०७००, खगेन्द्रमिलन श्रेष्ठ ९२०७२०, डा कर्ण बानियाँ ९२०७४०, तुलप्रसाद श्रेष्ठ ९२०७६० र प्रकाशकुमार श्रेष्ठ ९२०७८० मा पुरस्कृत भएको थियो । पुरस्कार वितरण समारोहमा अजयमिलन श्रेष्ठद्वारा लिखित सत्र सूर्य पुस्तकको विमोचन गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू