Ads

देउवाको भाग्य : सातौं पटकमा गठबन्धनको साथ !


डडेल्धुरा- राजनीतिक माहोल अनुकूल होस् या प्रतिकूल । जस्तो अवस्थामा पनि २०४८ सालदेखि डडेल्धुराबाट निर्वाचनमा अपराजित यात्रा गरिरहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनदेखि आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनका सन्दर्भमा गृहजिल्ला डडेल्धुरामा आयोजना गरिएका चुनावीसभामा व्यस्त छन् ।

सत्ता–गठबन्धन दलका साझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवालाई अघिल्लो आमनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले चुनौती दिएको भए पनि यसपटक माओवादी केन्द्रको सुदूरपश्चिमको नेतृत्वकर्ता नेता खगराज भट्ट देउवालाई सघाइरहेका छन् ।

गठबन्धनको प्रदेशसभा सदस्यको उम्मेदवार भएर भट्ट आफू पनि चुनावी मैदानमा छन् । प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका थिए । उहाँ विसं २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए । गत २०७४ सालको निर्वाचनमा १६ वटा प्रतिनिधिसभा रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ जित्ने एक्ला नेतासमेत उनी छन् ।

माओवादी नेता भट्ट तीन पटक देउवासित पराजित भएका थिए । नेपाली कांग्रेस डडेल्धुराका पार्टी सचिव हेमराज चटौतले डडेल्धुराबाट कांग्रेसका उम्मेदवार देउवा बहुमतले जित्ने दाबी गर्छन् । उनले स्थानीय तहको मतलाई मात्रै आधार बनाउँदा कांग्रेससहित गठबन्धनका प्रदेशका उम्मेदवारलाई जित्न कुनै समस्या नहुने दाबी गर्छन् ।

“पालिकाको निर्वाचनमा कांग्रेस एक्लैको २२ हजार बढी, माओवादी केन्द्रको १३ हजारको हाराहारीमा मत हो”, सचिव चटौतले भने, “प्रतिस्पर्धीको सबैको मिलाएर पनि १५ हजार मत देखिन्न ।”

देउवासित चुनावी प्रतिस्पर्धामा रहनुभएका कांग्रेस बिपीका कर्ण मल्लले स्थानीय निर्वाचनमा समेत नेकपा एमालेसित चुनावी तालमेल गरेका थिए । प्रतिनिधिसभाका उम्मेदवार मल्ललाई नेकपा (एमाले)ले सर्मथन गरेको छ । एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउदले आफूहरुको समर्थन सुरुबाटै कांग्रेस बिपीका उम्मेदवारलाई रहेको बताए ।

सात वटा पालिका रहेको डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा पाँच नेपाली कांग्रेस र दुई पालिकामा माओवादी केन्द्र विजयी भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१