Ads

वर्षौ थन्किएको रक्तचन्दन भारतले लैजाने


काठमाडौ\ झापाको डिभिजन वन कार्यालयमा विगत १७ वर्षदेखि थन्किएको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ । नेपाल सरकारको गत वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले झापासहित देशभर राखिएका रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि नेपालका विभिन्न १८ जिल्लामा थन्काएर राखिएको रक्तचन्दन भारत फिर्ता लिन तयार भएको हो ।

मन्त्रीपरिषद् बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन–२०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेका एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ उत्पत्ति भएको मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने निर्णय गरेपछि भारत सरकारले त्यस सम्बन्धी निर्णयसहितको पत्राचार गरिसकेको वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले बताए ।

सरकारले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र भारतले लगिसक्नुपर्ने कानुनी व्यवस्था भएको बताउँदै उनले भारतले रक्तचन्दन फिर्ता लिन पठाएको पत्र प्राप्त भएको जानकारी दिए । उनले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय भएलगत्तै मन्त्रालयलाई पत्र प्राप्त भएकाले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेर पठाएको जानकारी दिए । मन्त्रीपरिषद् बैठकले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि परराष्ट्रमार्फत भारतीय दूतावासलाई पत्र पठाएको र भारतले रक्तचन्दन फिर्ता लिन इच्छुक भएको भन्दै पत्र पठाएको उनले बताए ।

भारतले इमेलमार्फत रक्तचन्दन लिने आशयको पत्र पठाएको र पत्रमा असार ६ देखि असार १६ सम्म रक्तचन्दन लिन्छौँ भन्ने उल्लेख भएको बताउँदै उनले यसपटक भारत रक्तचन्दन फिर्ता लिन गम्भीर भएको बताए । वन तथा वातावरण मन्त्राएका प्रवक्ता बद्रीराज ढुंगानाले भारतले ललितपुरको फ्ल्यास फ्राइट लजिस्टिक कम्पनीमार्फत रक्तचन्दन फिर्ता लिन लागेको बताए ।
आफूहरुले यो ठाउँमा यति परिमाणमा रक्तचन्दन छ भनेर जानकारी दिने र नेपालका विभिन्न १८ जिल्लामा भएको रक्तचन्दन भारतले आफ्नै खर्चमा स्वदेश लैजाने बताउँदै उनले नेपालले त्यसको सहजीकरण गर्ने जनाए ।

२०६४ सालदेखि बरामद गरेर राखिएको रक्तचन्दन भारतलाई फिर्ता गर्ने प्रक्रियाले सार्थकता पाउन लागेको बताउँदै उनले नेपाल सरकारले चौथो पटक रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि भारतले रक्तचन्दन फिर्ता लिन तयार भएको जनाए । २०६५ सालमा बसेको मन्त्रीपरिषद् बैठकले ५४ हजार ११२ केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको र त्यसमा ३६ हजार ९२८ किलो रक्तचन्दन मात्र फिर्ता गरिएको थियो । त्यसैगरी २०७१ फागुन १२ मा बसेको मन्त्रीपरिषद् बैठकले २७ हजार १६६ केजी रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू