Ads

बाढी–पहिरोले देश भरिको जनजीवन समस्यामा


काठमाडौ\ मनसुन सक्रिय भएसँगै देशै भरिको जनजीवन समस्यामा परेको छ । विभिन्न जिल्लामा बाढी र पहिरोमा पनि कतिपयको मृत्यु भएको छ भने केहि घाईते भएका छन् । यस्तै कतिपय ठाउँमा सडक अवरुद्ध भएको छ ।

यसै क्रममा सोलुखुम्बूमा अविरल वर्षा सँगै आएको पहिरोले घर र गोठ पुरिदा एक जनाको ज्यान गएको छ । दुई गम्भीर घाइते भएका छन् । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–५ थुम्कीका ३९ वर्षीय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको कच्ची घर पुरिदा उनकी श्रीमती ३५ वर्षीय देव कुमारी खत्रीको घटना स्थलमै ज्यान गएको हो ।

पहिरोमा परि खत्री आफै र १८ वर्षीय छोरी मेनुका खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

कास्कीमा दुईको मृत्यु

मङ्गलबार रातिबाट परेको वर्षाका कारण घर भत्किँदा कास्कीमा दुई जनाको ज्यान गएको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानीमा घरले घर भत्किँदा १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो ।

नजिकैको माटोको ढिस्को भत्किँदा प्रकाश रानाभाटको घर भत्किएको हो । बिहान सवा २ बजेतिर घरले पुरिएर आयुस्माको मृत्यु भएको हो । सँगै सुतेकी आयुस्माकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारी पनि सकुशल छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले लालमायालाई उद्धार गरेको थियो ।

वर्षाका कारण पोखरा महानगरको वडा नम्बर २७ आरु पाटामा एक बालकको ज्यान गएको छ । बिहान ३ बजेतिर हरि सुनारको घर भत्किँदा उनका छोरा तीन वर्षीय अनमोलको मृत्यु भएको हो । अनमोलकी आमा २७ वर्षीया रितु सुनारलाई घाइते अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएको छ ।

४ बेपत्ता

लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा मङ्गलवार राति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले जानकारी दिए ।
डुबेर मृत्यु

झापाको मेचीनगरमा एक नाबालकको डुबेर मृत्यु भएको छ । फुलवासा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मङ्गलवार साँझ मेचीनगर नगरपालिका वडा न।–१४ नमुना टोल बस्ने बामरा सन्थालका २० महिनाका छोरा रिहान सन्थालको फुलवासा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर नजिक रहेको खोलामा खेल्दै गरेका बालक अचानक खोलामा डुबेर मृत्यु भएको खबर पाउनसाथ प्रहरी पुगेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।

Ads

सम्बन्धित पोष्टहरू