काठमाडौं, असार १३-
गत जेठ २८ गते मनसुन भित्रिएदेखि असार १२ गतेसम्म मनसुनजन्य विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएको बाढी, पहिरो र अविरल वर्षा लगायत मनसुनजन्य विपद्मा परेर हालसम्म ४३ जनाले ज्यान गुमाएका छन्। यस अवधिभर घाइते हुनेहरुको संख्या ५२ पुगेको छ।
प्रभावित जिल्लाहरुमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व, गुल्मी, दाङ र बाजुरा लगायत छन्। यस अवधिमा यी जिल्लाहरुमा मनसुनजन्य विपद्का १४७ घटना ‘रेकर्ड’ गरिएको गृह मन्त्रालयले जनाएको छ।
बाढीबाट प्रभावित हुनेहरूको संख्या पहिरोको तुलनामा न्यून छ। बाढीबाट मोरङमा एक जनाले ज्यान गुमाएका छन् भने २ जना सप्तरीमा घाइते भएको गृहको तथ्याङ्कमा उल्लेख छ।
यसैगरी, पहिरोबाट उल्लेखित जिल्लाहरूमा १४ जनाको मृत्यु भएको छ। जसमा संखुवासभामा १, ताप्लेजुङमा ५, ओखलढुङ्गामा १, लमजुङमा ५ र कास्कीमा २ जनाको मृत्यु भएको गृहले जनाएको छ।
पहिरोबाट घाइते हुनेहरुका संख्या १२ रहेको छ। यसक्रममा यहाँका २५ घरमा पूर्ण रुपमा र १० घरमा आंशिक रुपमा क्षति पुगेको छ। पहिरोबाट ६९ लाख ११ हजार १४ सय रुपैयाँको अनुमानित क्षति भएको आंकलन गरिएको छ।
यस्तै, जेठ २८ देखि हाल ९असार १२० सम्म चट्याङबाट भएको क्षतिको विवरण हेर्ने हो भने २६ जिल्लामा प्रभाव परेको छ। चट्याङबाट कुल २८ जनाले ज्यान गुमाएका छन् भने घाइते हुनेहरुको संख्या ३८ रहेको छ।
प्रभावित जिल्लाहरुमा कास्की, स्याङ्जा, नवलपरासी पूर्व, प्युठान, दाङ, बर्दिया, जाजरकोट, झापा, सुनसरी लगायत छन्। चट्याङबाट भएको जम्मा घटना संख्या ६८ रहेको छ।
संखुवासभा, झापा, सुनसरी, कपिलवस्तु, पाल्पा, रोल्पा, दाङ, बर्दिया, कैलालीमा गरी कुल १३ जनाको मृत्यु भएको छ। भने २४ जना घाइते भएका छन्।
चट्याङले कुनै पनि घर पूर्ण रुपमा क्षति पुर्याएको छैन। एक घर आंशिक रुपमा क्षति पुगेको छ। चट्याङबाट १७ लाख ७६ हजार ५ सय रुपैयाँको क्षति आकंलन गरिएको छ।
यो समाचार नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्