काठमाडौं । नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले राज्यका सबै संयन्त्रहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गुरुङले गणतन्त्र स्थापनापछि यतिका वर्ष आइसक्दा पनि राज्यका संयन्त्रहरु लोकतान्त्रिक हुन नसकेका बताए।
उनले राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्नेमा सबै राजनीतिक दललाई ध्यानाकर्षण गराए। उनले नेपालको कर्मचारीतन्त्र ब्रिटिश लिगेसीमा हुर्केको र शाणा, शाह तथा पञ्चायत शासनले हुर्काएको भन्दै अझै परिवर्तन हुन नसकेको बताए।
नेपाल प्रहरीमा चरम राजनीतिकरण भएर नेतापिच्छेका प्रहरीका हाकिम भएका उनले बताए। प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता, पुष्टि गर्न नसकेको उनको भनाइ छ।
उनले भने ‘गणतन्त्र स्थापनापछि हाम्रो कर्मचारीतन्त्र नयाँ बनाउन सकेका छैनौँ। ३००-४०० वर्ष अगाडि ब्रिटिश लिगेसीमा हुर्केको कर्मचारीतन्त्र, राणा शासनले, शाह शासनले, पञ्चायतले हुर्काएको यो ब्युरोक्रेसीमा तात्विक फरकपन ल्याउन सकेको छैन। त्यसमा लोकतान्त्रिकरण हुन बाँकी छ। त्यसलाई क्रान्तिकारी बनाउन बाँकी छ। जनमुखी, गणतन्त्रमैत्री बनाउन बाँकी छ। सांसदहरुसँग सोधेर मात्रै लिने कि नलिने भनेर फैसला गर्छ। कतिधेरै राजनीतिकरण भयो? कति धेरै भ्रष्ट बनाइयो? यो चिजबाट नेपाल प्रहरीलाई उठाइएन भने नेपाल प्रहरी माथि उठ्न सक्दैन? सुशासनको अभिष्ट पूरा गर्न सक्दैनौँ। शान्ति, सुव्यवस्था कायम गर्न सक्दैनौँ। नेपाली सेनालाई गणतन्त्रमैत्री बनाउन सकिएको छैन। यो सबैभित्र लोकतान्त्रिकरण गर्नुपर्छ। सरकारका पुराना संयन्त्रहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाऔँ।’
उनले नेपाली सेना र सशस्त्र प्रहरी पनि गणतन्त्रमैत्री हुन नसकेका बताए।
प्रतिक्रिया दिनुहोस्