कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरित कर्णाली र दीगो वन व्यवस्थापनका लागि वृक्षरोपण गरिएको बताएका छन् । डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आजदेखि सुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै उहाँले प्रकृति संरक्षणका लागि वृक्षरोपण आवश्यक छ भने ।
उनले भने, “वृक्ष रोप्ने तर त्यसको हेरचाह, दीगो व्यवस्थापन, संरक्षणमा बेवास्ता गर्ने अहिलेसम्मको परम्परालाई बदल्नुपर्छ । वृक्षरोपण कर्मकाण्ड पूरा गर्न होइन, यहाँका नागरिकको स्वस्थ जीवन र समृद्धिका लागि हो ।” सरकारीस्तरबाट गरिएका कार्य ‘क्या राम्रो हुँदा रहेछन्’ भन्ने अनुभूति हुने गरी वृक्षरोपण कार्य गर्न सम्बन्धित निकायलाई उहाँले निर्देशन दिए ।
डिभिजन वन कार्यालयले वीरेन्द्रनगर ११ सुर्खेतस्थित सुब्बाकुनादेखि वडा नं १ बाङगेसिमलसम्मको रोडको डिभाइडरमा ‘भावी सन्तती र समृद्धिका लागि वृक्षरोपण’ भन्ने मूल नाराका साथ स्वामी, कल्की फूल, पारिजात लगायतका सौन्दर्य मूल प्रजातिका वृक्ष रोप्ने कार्य सुरु गरेको डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कार्यालयले अघि सारेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ मा सहकार्य तथा समन्वयका लागि हातेमालो गर्न वातावरणप्रेमी व्यक्तित्वहरुसँग आग्रह गरिएको छ । त्यस्तै, ११ दिने प्रदेश राजधानी वृक्षरोपण कार्यक्रमअन्तरगत ट्रिगार्डसहित एक हजार एक सय ११ वटा बिरुवा वीरेन्द्रनगरका मुख्य सडकका डिभाइडरमा रोपिने लक्ष्य रहेको छ ।
डिभिजन वन अधिकृत श्रेष्ठले रु २० लाखको बजेटमा सञ्चालन हुने उक्त कार्यक्रमबाट रोपेका बिरुवाको उचित हेरचाह, व्यवस्थापन एवं संरक्षणका लागि ‘वन हेरालु’समेत परिचालन गरिने बताए । वृक्षरोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, प्रदेश सचिवलगायत वातावरणप्रेमीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्