Ads

गाउँमा पनि गाँजा खेतीका कुरा


धनकुटा, नेपाल सरकारको नीति तथा मापदण्डको अधीनमा रही गाँजा खेतीलाई औषधीजन्य प्रयोजनका लागि व्यावसायिक खेती प्रवर्धनका लागि सहिदभूमि गाउँपालिकाले आफ्नो आगामी वर्ष २०८१\८२ को नीति तथा कार्यक्रममा गाँजा खेतीलाई समावेश गरेको छ ।

यसअघि नै सहिदभूमि गाउँपालिकाले चालु आव २०८०\८१ को स्वीकृत बजेटमार्फत औषधीय प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गरी प्रतिवेदनसमेत तयार गरिसकेको छ ।

आगामी आव २०८१\८२ को बजेटमार्फत नेपाल सरकारको नीति तथा मापदण्डको अधीनमा रही गाँजा खेतीलाई औषधीजन्य प्रयोजनका लागि व्यावसायिक खेती प्रवर्धन गर्न आवश्यक प्रबन्ध गरिने सहिदभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले बताए ।

यसै गरी महालक्ष्मी नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा पनि गाँजा खेती समावेश गरिएको छ । महालक्ष्मी नगरपालिकाले २०८१\८२ मा केन्द्रीय सरकारले बाटो खुला गरेको खण्डमा औषधीय गुणयुक्त गाँजाको बढ्दो अवैधानिक खेती निरुत्साहित गरी यो खेतीलाई करको दायरामा ल्याउने गरी कार्यक्रम गर्न लागिएको महालक्ष्मी नगरपालिकाका नगरप्रमुख युवराज रायाले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू