काठमाडाैं । अल्पमतमा परिसकेर पनि सत्ता हस्तान्तरणमा आलटाल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा (एमाले)का सांसदले आग्रह गरेका छन् ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैरेले अस्थिरता लम्ब्याउन प्रचण्डले संविधानमा प्वाल खोज्दै हिँडेको आरोप लगाएका हुन् ।
‘रोम जलेको बेला निरोले बाँसुरी बजाइरहेजस्तै । सरकारको कुरा के गर्नु ? सरकार घोर अल्पमतमा परेको छ, बाँसुरी बजाइरहेको छ,’ उनले भने, ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले–कहिले भन्दै हिँडिरहेको छ । बरु उडायो सबै सपना सबै हुरीले भनेर गाए हुने नि !’
दुईतिहाइ सांसद एक ठाउँमा भएपछि सहज सत्ता हस्तान्तरण गर्नुपर्नेमा प्रचण्डले संविधानमा प्वाल खोज्दै हिँडेको गैरेले आरोप लगाए ।
‘प्रधानमन्त्रीज्यू धारा पानी खोज्दै, संविधानमा प्वाल खोज्दै हुनुहुन्छ । सरकारलाई फेरि अस्थिरता, बेथिति र विभाजनतर्फ लैजान प्रयत्न गर्दै हुनुहुन्छ । सदनमा पनि अनेक तर्क खोजिँदैछ । सरकार अल्पमतमा परेपछि कुनै धारा–उपधारा खोज्नु पर्ने कारण छैन । मिनेट होइन, सेकेण्ड पनि बस्न मिल्दैन,’ उनले भने ।
आइतवार पनि एमाले सांसदले असार २८ अगावै राजीनामा गर्न प्रचण्डलाई सुझाव दिएका थिए । केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी नेपाली कांग्रेस र एमालेबीच असार १७ गते भएको सहमतिपछि प्रचण्डको सत्ता धरापमा परेको थियो ।
प्रतिक्रिया दिनुहोस्