Ads

रास्वपाको केन्द्रीय समिति बैठक जारी, मुकुल ढकालमाथि कारबाही गर्नेबारे छलफल


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

केन्द्रीय समिति बैठक पार्टी कार्यालय बालाजुमा बिहान ८ बजे बस्ने गरी बोलाइएको भए पनि ९ बजेपछि मात्रै सुरु भएको हो । बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि अनुशासनको कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा लिन लागेको विश्वासको मतलगायतका विषयमा पनि छलफल हुनेछ । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री ढकालमाथि कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन आयोगले यसअघि नै सभापति रवि लामिछानेलाई बुझाएको थियो । आयोगको प्रतिवेदनमाथि आइतबार बसेको सचिवालय बैठकमा पनि छलफल भएको थियो ।

१९ असारमा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई पार्टीको महामन्त्री पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो । रास्वपा स्रोतका अनुसार केन्द्रीय समितिले ढकाललाई महामन्त्री पदबाट हटाएर केन्द्रीय सदस्यको भूमिका मात्रै दिने निर्णय गर्ने सम्भावना छ ।

Ads

सम्बन्धित पोष्टहरू