Ads

विश्वासको मत लिनुअघि बालुवाटारमा रणनीति बनाउँदै प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि सत्ता साझेदार दलहरूसँग झलफल गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग छलफल गरेका हुन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुअघि आगामी रणनीति तय गर्न उनीहरूसँग छलफल गरेका हुन्। उनीहरूबीच समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ। बैठकमा माओवादीका तर्फबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत सहभागी छन्।

सत्ता साझेदार दल एमालेले कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री दाहालले शुक्रबार विश्वासको मत लिँदैछन्। विश्वासको मत पाउने सम्भावना न्युन भएपछि प्रधानमन्त्री दाहालले माधव नेपाललगायत नेताहरूसँग रणनीति तय गर्न लागेको ती स्रोतको भनाइ छ।

नेकपा माओवादी केन्द्रले संविधानको धारा ७६(२) पछि ७६(३) अनुसार सरकार बन्नुपर्ने बताउँदै आएको छ। जबकि कांग्रेस र एमालेले ७६(२)अनुसार नै केपी ओली नेतृत्वको सरकार बन्ने दाबी गर्दै आएका छन्। ७६ (२)मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने प्रावधान छ। त्यस्तो सरकार विश्वासको मत नपाउने अवस्थामा संसदको ठूलो दलका संसदीय दलको नेतालाई प्रधानमन्त्री चयन गर्ने प्रावधान ७६(३)मा छ।

Ads

सम्बन्धित पोष्टहरू