२०५६ सालको संसदीय निर्वाचन, २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको ‘हृयाट्रिक’ गरेका कांग्रेस नेता हुन् अर्जुनप्रसाद जोशी । अहिलेसम्म हेभीवेट नेता नपाएको जिल्लाको ट्याग लागेको पर्वतको विकाश गर्न भन्दै जोशी, एमाले नेता पदम गिरीसहितका नेता चुनावी मैदानमा छन् ।
जोशीका लागि यो पटक भने गठबन्धनको भरोसा छ । अघिल्लो पटक गिरीसँग रहेको माओवादी यो पटक जोशीको साथमा छ । अझै साथमा छ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी पनि । सत्ता गठबन्धनको बलमा उनी गिरीसँग पराजयको बदला लिन चाहन्छन्, यो पटक । चुनावी चटारोका समयमा हामीले नेता जोशीलाई तपाईले जित्छु भन्ने आधारहरु के के छन् भनेर सोधेका छौँ ।
चुनावको मिति नजिकिँदै गएको छ, ढुकढुकी कत्तिको बढेको छ ? सुन्दर नगरी पर्वतको उकाली ओराली अनि घर दैलोमा ढुकढुकी पुरै बढेको छ । ढुकढुकीसँगै हामीले जनताको शुभेच्छा लिइरहेका छौँ । जसका कारण चुनाव जित्नेमा ढुक्क छौँ । पर्वतबाट निर्वाचित भएर ‘हृयाट्रिक’ गर्नुभएको तपाईलाई एमाले नेता पदम गिरीले २०७४ मा पराजित गर्नुभयो । गिरीसँगको यो प्रतिस्पर्धाका कारण ढुकढुकी कति बढेको छ भनेको ?
त्यतिबेलाको गठबन्धन र पदमलाई जिताउने शक्ति माओवादी र गठबन्धन अहिले हामी एकै ठाउँमा छौँ । जुन शक्तिको मद्दतले त्यतिबेला गिरीले जित्नु भयो, अहिले माओवादी र एकिकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन हामी एकै ठाउँमा भएका कारण नतिजा हाम्रै पक्षमा आउने पक्का छ । पर्वतमा एमाले एक्लो भएका कारण मैले चुनाव जित्छु भन्ने कुरामा पूर्ण विश्वस्त छु ।
घरदैलोमा मतदातासँगको भेटघाटमा के पाउनुभयो ?
अहिले पनि घरदैलोमा नै छु । घरदैलोमा एकदम भरोसा, विश्वास पाएको छु । यो गठबन्धनले संविधानको रक्षा गर्छ, विकाश गर्छ , समृद्धि ल्याउँछ भन्ने कुरा हामीले जनतामा राखेका छौँ । जनता सकारात्मक हुनुहुन्छ । मैले विगतमा गरेको कामलाई जनताले अहिले पनि सम्झिरहन्छन् । अझै बाँकी रहेका र ठूला कामहरु म आएपछि फेरि गर्नुछ ।
२०५६, २०६४ र २०७० को जित र २०७४ को पराजयबाट कस्तो पाठ सिक्नु भएको छ ? २०५६, २०६४ र २०७० मा मैले पर्वतमा विकासको एकखालको लहर चलाएँ । तर, २०७४ को पराजयलाई मैले गम्भीर भएर समीक्षा गरेको छु । हिजो के कस्ता कमिकमजोरीहरु भए भन्ने कुरालाई सुधार गरेर मैले जानुपर्ने महसुस गरेको छु ।
यहाँले अघिल्लो पटक पनि कुश्मा ज्ञादी जोड्ने मोटरेवल पुलका लागि पहल गर्छु भन्नुभएको थियो, यसपटक उक्त विषय यहाँको नजरमा छ कि छैन ? मोदी खोलामाथिको पक्की पुल पर्वतवासीका लागि अत्यावश्यक छ । जसको निर्माणले कुश्मा नगरपालिकाको समृद्धि र विकासका लागि ठूलो टेवा पुग्ने भएकाले हामीले उक्त पुल निर्माणमा पूर्ण रुपमा पहल गनेछौँ ।
तीनपटक चुनाव जित्दा पनि मन्त्री बन्ने अवसर पाउनुभएन ? यसपटक गठबन्धनको बलमा बाजी मार्ने र मन्त्री बन्ने सपना होला ? गठबन्धन नै मैले चुनाव जित्ने मुख्य आधार नै भइहाल्यो, त्यसमा कुनै शंका नै रहेन । संसदीय राजनीति, केन्द्रीय राजनीतिमा लामो अनुभवका कारण मलाई अहिले पार्टीले नै उठाएर म चुनाव लडेको हुँ । मलाई मन्त्री बनाउने नबनाउने भन्ने इच्छा पार्टीको हो । पार्टीले अवसर दिएको खण्डमा भोलिका दिनमा म मन्त्री बन्न सक्छु ।
अर्को पटक पनि चुनाव लड्ने इच्छा छ कि यही अन्तिम हो ?
राजनीतिमा इच्छा आकांक्षा भन्ने कुरा पहिलो र अन्तिम नहुने रहेछ । मैले अघिल्लो पटक नै युवाहरुलाई अवसर दिनुपर्छ भनेको हो । तर, अहिले पार्टी र गठबन्धनले नै मलाई रोजेका कारण म उम्मेदवार बनेको हुँ । आगामी दिनमा मेरो पहल युवा राजनीतिज्ञलाई ल्याउनुपर्छ भन्ने नै पहल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्