काठमाडाैं । बझाङबाट काठमाडाैं आइरहेकाे खप्तड मालिका यातायातकाे बस ठूलाे दुर्घटना हुनबाट जाेगिएकाे छ ।
शुक्रबार बिहान जयपृथ्वी राजमार्गअन्तर्गत छविस पाथिभेरा गाउँपालिकाको मटेला भ्यागुतेखोला नजिकै काठमाडाैंका लागि हिँडेकाे बस पहिराेबाट जाेगिएकाे हाे ।
बझाङका स्थानीय शिक्षक नरेन्द्र उपाध्यायका अनुसार भ्यागुतेखाेला नजिकै गए राति खसेकाे पहिराे पन्छाएर अवरुद्ध भएकाे राजमार्ग बिहान खाेलिएकाे थियाे । पहिराे पन्छाएपछि जाममा परेका गाडीहरू गुडाउने तरखर हुँदै गर्दा सडककिनारकाे भिरबाट फेरि पहिराे खस्याे ।
उक्त पहिराेकाे एक किनारले गुड्नका लागि ‘स्टार्ट’ भइसकेकाे बसलाई समेत छाेएकाे सार्वजनिक भिडियाेमा देखिन्छ । पहिराे खस्न थालेपछि बसभन्दा अगाडि रहेका एक व्यक्ति पछाडि भाग्न आग्रह गर्दै चिच्याइरहेका सुनिन्छन् । पहिराेले बसकाे अगाडिकाे भागलाई ठक्कर दिएकाे थियाे ।
‘यदि पहिराेकाे ठक्कर अलिकति पनि बलियाे भएर लागेकाे भए बस सीधै सेती नदीमा खस्ने जाेखिम थियाे’, पूर्वपत्रकार समेत रहेका शिक्षक उपाध्यायले भने, ‘अर्काे सिमलताल दुर्घटना हुनबाट जाेगियाे ।’
प्रतिक्रिया दिनुहोस्