काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन्।
सोमवार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन्। उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने बताए। उनले होटललाई उद्योगको मान्यता दिने कुरामा सरकार गम्भीर रहेको पनि बताए।
नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको उनको भनाइ छ। अर्थमन्त्रीसँगको भेटमा नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक साहले ३०/३५ लाख पर्यटकलाई सेवा दिन सक्ने भएपनि वर्षेनी १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरै भन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गरे । सडक पूर्वाधारहरू सुरक्षित नहुँदा पनि पर्यटकहरू नेपाल आउन नचाहने बताए।
अध्यक्ष साहले होटल व्यवसायीहरूले बैंकबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस्