काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे छलफल गर्न बसेको संसदीय सुनुवाइ समितिको बुधबारको बैठक निष्कर्षमा नपुगी सकिएको छ।
अर्को बैठकले निर्णय गर्ने भन्दै बुधबारको बैठक सकिएको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले जानकारी दिए।
यौन हिंसा आरोपको कारण विवादित छवि भएका प्रधानबारे समिति सदस्यहरुको छलफल भएपनि प्रधानलाई निर्वाचन आयुक्तमा प्रस्ताव गर्न सहमति जुट्न सकेन। बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले प्रधानको नैतिक चरित्रमाथि प्रश्न उठाएकी थिइन्।
अन्य सांसदहरुले पनि उनीमाथि प्रश्नहरुको ओइरो लगाएका थिए। यसैबीच बुधबार संसदीय सुनुवाइमा मिडियालाई बाहिर निकालिएको छ। यो संसदीय सुनुवाइको इतिहासमै पहिलो पटक भएको घटना हो। समितिको बैठक सुरु भएको केही समयपछि संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सभापतिको निर्देशनमा भनेर आफैले मिडियालाई बाहिर जान निर्देशन दिएका हुन्।
पाण्डे प्रस्तावित प्रधानमाथिको आरोप लुकाउन सुरुदेखि नै लागि पर्दै आएका छन्। उनले प्रधानमाथि परेका उजुरीबारे मिडियालाई जानकारी नदिन सांसदहरुलाई समितिमा दबाब पनि दिएका थिए। सुनुवाइ समितिको बैठकमा प्रधानले कार्ययोजना प्रस्तुत गर्दा मिडियालाई बस्न दिएर त्यसपछि बाहिर जान भनिएको हो।
आफ्नै कार्यालयमा काम गर्ने महिलामाथि यौन हिंसा गरेको प्रधानमाथि लागेको छ। पीडित महिला स्वयम्ले सुनुवाइ समितिमा उपस्थित भएर आफूमाथि भएको हिंसाको बारेमा असार १९ गते सविस्तार बताएकी थिइन्। पीडितको कुरा सुनेपछि भोलिपल्टै अनुमोदन गर्ने तयारीबाट सुनुवाइ समिति पछि हटेको थियो।
प्रतिक्रिया दिनुहोस्