Ads

समाज सेवामा युवाको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री कार्की


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज सेवामा युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

लायन्स क्लब विराटनगर सेन्टरको आज आयोजित २९औँ पदस्थापना समारोहमा मुख्यमन्त्री कार्कीले युवाको माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वास र कुरीति प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले भने, “राष्ट्रिय हित, सार्वभौम नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लबले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप सफलता मिलोस् ।” उनले मुलुकमा लागुपदार्थ दुर्व्यसनमा युवापुस्ता फस्दै गएकामा चिन्ता व्यक्त गरे । यसबाट उनीहरुलाई मुक्त गर्न क्लबले थप सक्रियता दिनुपर्ने उनले आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले हरेक मानिसले आफ्नो, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनुपर्छ भन्ने दायित्व बुझाउनु आवश्यक रहेको विचार राखे ।

कार्यक्रममा सन् २०२४–२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो । सेन्टरले विगत २९ वर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरिबलाई न्यानो कपडा वितरण तथा बाढीपीडितलाई सहयोग उपलब्ध गराउँदै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू