काठमाडाैं । रास्वपा सांसद हरि ढकालले बोल्ने क्रममा अपुतालीको धनको कुरा ल्याएपछि एमाले सांसदले नियमापत्ति गरेकी छिन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद ढकालले आफूहरूलाई नाति भनेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका थिए ।
‘डिट्ठा साहेबहरू र काजीसाहेबहरूका गलत रवैयालाई रोक्नका लागि आएका हामी अब्बल नातिनातिना हौं, ती नाति होइनौं जो मनको छोरालाई भनेको जति अपुताली धन खुवाइएर पुल्पुलिएका नातिनातिना होइनौं,’ ढकालले भने ।
त्यसलगत्तै एमाले सांसद दीपा शर्माले संसद्मा अमर्यादित शब्द बोलिएको भन्दै रेकर्डबाट हटाउन माग गरिन ।
‘सम्मानित सदनमा बोलिने अभिव्यक्ति आवेशमा आएर उत्तेजनामा आएर त्यसरी भन्न मिल्दैन । अपुताली भन्ने शब्द के भन्न खोजिएको हो ? कसलाई भन्न खोजिइएको हो । यो रेकर्डबाट हटाउन माग गर्दछु,’ शर्माले भनिन् ।
साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री ओलीले संविधान जोगाउने जिम्मा कांग्रेस एमालेको भन्दै नाति पुस्ताका सांसदले चिन्ता गर्नुनपर्ने बताएका थिए ।
ढकालले आकस्मिक समय लिएर अन्य विषय बोलेको भन्दै सभामुख देवराज घिमिरेले पनि हस्तक्षेप गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्