Ads

समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा सञ्चारमन्त्रीले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले रूढी परम्परा र अन्धविश्वासको अन्त्यका लागि ऐनकानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिएको बताए ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सामाजिक कुरीति अन्त्य गर्न समाजका सबै वर्गको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भने, “बोक्सी प्रथालाई पूर्ण रुपमा अन्त्य गर्न सरकार पूर्ण प्रतिबद्ध छ । “सति प्रथा सकियो तर यसको धङधङी अहिले पनि नेपाली समाजमा बाँकी छ,” उनले मुलुक राजनीतिक रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरे पनि आर्थिक रुपमा धेरै पछाडि रहेको वास्तविकता औँल्याए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हलिया, छाउपडी, हरवाचरवा र कम्लरी प्रथालाई पनि पूर्ण रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा उनले बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’को पोष्टर पनि सार्वजनिक गरे ।

Ads

सम्बन्धित पोष्टहरू