काठमाडाैं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटेपछि नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन् ।
विवाद टुंग्याउन गठित कार्यदलको सदस्य समेत रहेका जनार्दनले बिहीबार फेसबूकमा स्टाटस लेख्दै शान्ति प्रक्रियाको कार्यभार अब छिट्टै पूरा हुने विश्वास पनि व्यक्त गरेका छन् ।
‘बृहत् शान्ति सम्झौता भएको १७ वर्ष ८ महिना ११ दिनको अवधिमा संविधान निर्माण, सेना समायोजनलगायतका कामहरू सम्पन्न भइसकेका छन् । त्यसमध्ये द्वन्द्व पीडितलाई न्याय, परिपूरण र मेलमिलाप गर्ने कार्यमा ढिलाइ भइरहेको थियो,’ जनार्दनले लेखेका छन्, ‘सम्मानित अदालतको आदेशबमोजिम टी. आर.सी. विधेयक संशोधनका लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा माननीय गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला सबै पक्ष र विज्ञहरूको सल्लाह, सुझाव र सहयोग समेत लिई संशोधन गर्न सहमति हुन नसकेका सबै विषयहरू टुंगोमा पुर्याउन, समितिका लागि सहजीकरण गर्न सफल भएका छौं। यसबाट नेपालको शान्ति प्रक्रियाका बाँकी कार्यभार छिटो पूरा भई नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गर्दछु ।’
उनले आफूलाई कार्यदल सदस्यका रूपमा महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा अध्यक्ष प्रचण्डलाई धन्यवाद पनि दिएका छन् ।
‘यसक्रममा सल्लाह सुझाव दिएर वा प्रश्न गरेर सहयोग गर्ने सम्पूर्ण महानुभावसहित यो अवसर प्रदान गर्ने अध्यक्ष क. प्रचण्डलाई धन्यवाद,’ जनार्दनले लेखेका छन् ।
कार्यदलले द्वन्द्वकालको हत्याको परिभाषा, मेलमिलाप र क्षमादानमा पीडितको सहमति अनिवार्य हुने तथा गम्भीर मानवअधिकार उल्लंघनका विषयमा फौजदारी मुद्दा चलाउने विषयमा सहमति जुटाएको छ ।
बहिर्गमित लडाकूसहित द्वन्द्वप्रभावितलाई परिपूरणको व्यवस्था गर्ने विषयमा समेत सहमति जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्