Ads

जिज्ञानद्वारा लिखित ‘जापान सपना, सङ्घर्ष र सफलता’ लोकार्पित


काठमाडौँ । जिज्ञानकुमार थापाको गैरआख्यान पुस्तक ‘जापान सपना, सङ्घर्ष र सफलता’को आज यहाँ आयाजित कार्यक्रममा लोकार्पण गरिएको छ । चक डस्टर प्रालिले प्रकाशन गरेको उक्त पुस्तक नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतले लोकार्पण गरे ।

राजदूत युताकाले आफूले लेखक थापालाई लामो समयदेखि चिनेको र पुस्तक लोकार्पणमा आउन पाउँदा निकै खुसी लागेको बताए । “लेखक जिज्ञान कानागावामा रहेको कानागावा इन्टरनेशनल फाउण्डेसनमा काम गर्नुहुन्छ, म पनि त्यही क्षेत्रमा बस्छु, उनको पुस्तक लोकार्पण गर्न पाउँदा निकै खुसी लागेको छ । यो पुस्तक जापान जान र जापानबारे बुझ्न चाहनेका लागि उपयोगी हुनेमा विश्वस्त छु ।”

उनले पछिल्लो समय जापानमा नेपाली विद्यार्थी र कामदारको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उनीहरूका लागि जापानमा बस्न र जापानी नागरिकबीच घुलमिल हुनका लागि यो पुस्तक सहयोगी हुने बताए। “पछिल्लो समय त जापानमा नेपालीहरू बढ्दै गएका छन्, सिञ्जुकोलाई ‘लिटिल नेपाल’ भन्न थालिएको छ, नेपालबाट युवाशक्ति जापान जाँदा यसले हाम्रा मुलुकका लागि पनि फाइदा पुगेको छ ।” उनले अब जापानले पनि नेपालको संस्कृतिबारे पनि जान्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

त्यस अवसरमा जापानका लागि नेपालका पूर्वराजदूत मदनकुमार भट्टराईले पुस्तक जापान जान चाहनेका लागि निकै उपयोगी हुने बताए । “मेरो कूटनीतिक जीवनको ३७ वर्षमध्ये जापानमा रहँदा त्यहाँको रहनसहन र जनताको व्यवहारबाट निकै प्रभावित भएको थिएँ, जापानबारे बुझ्न यो पुस्तक थप सहयोगी हुने विश्वास लिएको छु”, उनले भने ।

पुस्तकमाथि चर्चा गर्दै शैलेन्द्र अधिकारीले जापान जान चाहनेका लागि त्यहाँ गएर काम खोज्न, त्यहाँको संस्कार सिक्न, घुलमिल हुनका लागि पुस्तक सहयोगी बन्नसक्ने धारणा व्यक्त गर्नुभयो ।

लेखक थापाले सुरुमा पुस्तक निकाल्ने योजना नभए पनि धेरैको सल्लाह र सुझावपछि पुस्तकको आकार दिइएको बताए । “२५ वर्षअघि जापान जाँदा मलाई अग्रजहरुले मार्गनिर्देशन गर्नुभएको थियो, त्यहाँ घुलमिल हुन सहयोग गरेका थिए, तर आजका दिनमा जापान जानेले त्यसरी सिकाउने र मार्गनिर्देशन गर्ने पाउँदैनन्”, उनले भने, “यो पुस्तक जापान जानेहरुका लागि लक्ष्यित गरी प्रकाशित गरिएको हो ।” उनले पुस्तकमा १६ पुष्ठ आफ्नो बारेमा लेखे पनि बाँकी भागमा अरुका लागि लेखिएको बताए ।

प्रकाशक चक डस्टरका प्रमुख हरि भट्टराईले सन् १९०२ मा अध्ययनका लागि जापान पुगेका नेपाली विद्यार्थीहरूले सन् १९०५ मा गोदाबरी फूल नेपाल ल्याएको इतिहास स्मरण गर्दै पछिल्लो समय जापान शिक्षा र रोजगारीका लागि नेपाली युवाको गन्तव्य बनेको बताए । उनले जापान जान चाहनेका लागि पुस्तक निकै उपयोगी सावित हुने दाबी गरे ।

उक्त पुस्तक जापान पुगेका, जापान जान लागेका, जापान जाने सपना देखेका र जापानबारे जान्न चाहने सबैका लागि उपयोगी हुने बताइएको छ । पुस्तकमा जापानी रहनसहन, खानपान, भाषा, संस्कृतिदेखि नेपालीहरूले जापानमा अवलम्बन गर्नुपर्ने हरेक विषयलाई मिहिन ढङ्गले विश्लेषण गरिएको लेखक थापाले बताए ।

त्यस अवसरमा जापानका लागि नेपालका पूर्वराजदूत मदनकुमार भट्टराई, जापानिज युनिभर्सिटी अल्मुनाई एशोसिएसन नेपाल ९जुवान०का अध्यक्ष सुनिलबाबु श्रेष्ठ, नेपाल जाइका अल्मुनाई एशोसिएसन ९जान०का अध्यक्ष रामचन्द्र भुसाल, जापानी भाषा शिक्षक सङ्गठन नेपाल ९जाल्टान०का अध्यक्ष राजेन्द्र केसीलगायतको उपस्थिति थियो ।

योकोहामा नेशनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकास सङ्काय ९कानागावा प्रिफेक्चर० स्नातकोत्तर गरेक थापा हाल जापानमा जापानी भाषाको अनुवादक, कानागावा इन्टरनेशनल फाउण्डेसनको एकेडेमिक गभर्नरको सल्लाहकार, जापानको सरकारी माध्यमिक विद्यालय हिरानुमा हाइस्कुलको सञ्चालक समिति सदस्य, एभरेष्ट इन्टरनेशनल स्कुल, जापानको सल्लाहकार, गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति परिषद् सल्लाहकार हुन् ।

लामो समय जापानलाई कर्मथलो बनाएका थापाले जापानका विभिन्न टेलिभिजन र पत्रपत्रिकामा समसामयिक विषय र नेपाल–जापान सम्बन्धका विविध आयामहरूमा विभिन्न दृष्टिकोण प्रस्तुत गर्दै लेखहरु लेख्दै आएका छन् । एक सय ४४ पृष्ठ लामो पुस्तकमा १३ अध्याय छन् । पुस्तकको मूल्य रु पाँच सय राखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू