Ads

सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र निर्माण हुन्छः मन्त्री पौडेल


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन् ।

विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताएका हुन् ।“मानव अङ्गदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्”, मन्त्री पौडेलले भने, “तत्काल कोशी प्रदेशबाट यो काम थालिने छ ।”

उनले कोशीमा छिट्टै उपकेन्द्र खुल्ने जानकारी दिँदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए । “‘यस ९केन्द्र० ले मात्र देशैभर सेवा दिन सक्दैन”, मन्त्री पौडेलले भने “त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौँ ।”

सीमित जनशक्ति, पूर्वाधार र स्रोतका कारण चाहे जस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र स्रोतलाई अधिक सक्रिय बनाएर जनतालाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिए। “मैले यो कुरा स्टन्ट गर्न भनेको होइन”, मन्त्री पौडेलले भने, “यो आवश्यकता हो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थित गर्छौँ ।”

मन्त्री पौडेलले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवश्यक पहल गर्न प्रतिबद्ध रहेको बताए । मन्त्री पौडेलले मानव अङ्गदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा अङ्गदातालाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले पनि अङ्गदान गर्ने घोषणा गरे ।

Ads

सम्बन्धित पोष्टहरू