काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिँदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार काठमाडाैंमा आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष ढकालले सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका स्पष्ट संकेत देखिएको बताए ।
बजारमा देखिएको सुधारलाई ध्यान दिएर स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजीक्षेत्रबीच थप सहकार्यका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे । देशभित्र शेयर बजारमा उत्साह आएकाे, घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको र कर्जाको मागमा पनि सुधार भइरहेकाले यसलाई अझै चलायमान बनाउन आवश्यक रहेको अध्यक्ष ढकालले बताए ।
पर्यटक आगमन बढिरहेको, रेमिट्यान्स हालसम्मकै उच्च देखिएको, विदेशी मुद्राको सञ्चिति पर्याप्त हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा भएकाले लगानीकर्तालाई विश्वासमा लिन सहज हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
थप पर्यटक आकर्षित गर्न पोखरा तथा भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन भइरहेका पहलको स्वागत गर्दै अध्यक्ष ढकालले स्वदेशी र विदेशी पर्यटकलाई लाग्ने शुल्कको अन्तर हटाउन तथा हवाई यात्रा सुलभ र सस्तो बनाउन पहल लिने समय आएको तर्फ पनि ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्