Ads

प्रतिक्रान्तिका ‘हर्कत’विरुद्ध फेरि एउटा संघर्ष अघि बढाउनै पर्छ: प्रचण्ड


काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिका ‘हर्कत’हरू भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको उद्घोष गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतवार आयोजित शहीदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताए ।

क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसरत भइरहेको दाबी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको आरोप लगाए ।

‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं,’ उनले भने, ‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

आफूहरू शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति भिन्न रुपमा जारी रहने बताएको स्मरण गर्दै प्रचण्डले जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनुपर्नेमा जोड दिए ।

‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौं– गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरूले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नेछौं,’ उनले थपे, ‘त्यहाँनेर गएर फेरि अर्को संघर्ष हुन्छ भनेका थियौं, अब राजनीतिक त्यतै जाँदैछ । दलाल पुँजीपति र नोकरशाहीहरूसँग संघर्ष शुरू भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनैपर्छ ।’

Ads

सम्बन्धित पोष्टहरू