काठमाडौं । नेकपा (एमाले)ले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ । मंसिरमा चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पहिलो अपानि जारी गरेको छ । अपानीमा पदाधिकारीको वरीयता हेरफेर गरेको छ । एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यको जिम्मेवारी पनि बाँडफाँट गरेको छ ।
एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इन्चार्ज पनि तोकेको छ ।
अध्यक्ष केपी ओलीले समग्र पार्टीको नेतृत्व गर्नेछन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी पाएका छन् ।
महासचिव शंकर पोखरेलले सांगठानिक कामको संयोजन गर्ने छन्।
उपाध्यक्षहरू युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, रामबहादुर थापाले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णुप्रसाद पौडेलले पार्टीको सांगठानिक कामको अनुगमन, सुवासचन्द्र नेम्वाङले संसदीय मामिला र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन् ।
उपमहासचिवहरू प्रदीप ज्ञवालीले पार्टी स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा पाएका छन् । विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।
सचिवहरुमा टोपबहादुर रायमाझीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको जिम्मा पाएका छन् । लेखराज भट्टले कुनै विभागनको जिम्मेवारी पाएका छैनन् । उनी सुदुरपश्चिम प्रदेश इन्चार्ज तोकिएका छन् । गोकर्ण विष्ट उर्जा, जलस्रोत तथा सिंचाईं विभाग इञ्चार्ज बनेका छन् । प्रगतिशील तथा पेशागत ईञ्जिनीयर्स एशोसियसनको पनि जिम्मा पाएका छन् । योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभाग इञ्चार्ज, राष्ट्रिय स्वास्थ्यकर्मी संघ तथा
सम्बद्ध संगठनहरू हेर्ने छन् ।
छविलाल विश्वकर्मा लुम्बिनी प्रदेश इञ्चार्ज बनेका छन् । रघुवीर महासेठ प्रदेश नं. २को इञ्चार्ज, पद्माकुमारी अर्याल गण्डकी प्रदेश इन्चार्ज र स्थायी कमिटी सदस्य घनश्याम भुसाल अर्थ तथा योजना विभाग प्रमुख बनेका छन् ।
सात सचिवको वरीयता पनि अपानीमा सच्च्याएको छ । जसमा टोपबहादुर रायमाझी पहिलो स्थानमा परेका छन् । क्रमशः लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्याल रहेका छन् ।
यो भन्दा पहिला गोकर्ण विष्ट र योगेश भट्टराई , छविलाल विश्वकर्मा र रघुवीर महासेठभन्दा पछाडि थिए ।
प्रतिक्रिया दिनुहोस्