Ads

देउवा–प्रचण्ड भेटवार्ताः सर्वदलीय बैठक बोलाउने तयारी


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटवार्तामा सर्वदलीय बैठक बोलाउने तयारी भएको बताइएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर छलफल गर्नेमा दुई नेता तयार भएका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको ६ पुसको बैठक अघि नै सर्वदलीय बैठक बोलाउने तयारी गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

‘भेटका अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो । सोही अवसरमा अध्यक्ष कमरेड प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भदौ तेस्रो सातादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले सभामुखको पक्षपातपूर्ण व्यवहारका कारण सदन अवरुद्ध गर्नुपरेको जनाउँदै आएको छ । यस्तै एमसीसी संसदमा पेश गर्ने वा नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनमै एकमत छैन । खासगरी माओवादी केन्द्रले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताउँदै आएको छ । तर, प्रधानमन्त्री देउवालाई एमसीसी अघि बढाउन दवाव छ ।

Ads

सम्बन्धित पोष्टहरू