Ads

संविधान निर्माणमा नेम्वाङको भूमिका उल्लेखनीय छ : मुख्य सचेतक बर्तौला


काठमाडौँ । प्रतिनिधिसभामा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा खेलेको भूमिका उल्लेखनीय भएको बताएका छन् । स्व नेम्वाङलाई संविधान निर्माणका साथै नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका सबै नेपालीले सधैँ सम्झिरहने बताए ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै मुख्य सचेतक बर्तौलाले संविधानसभाका अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसका दिनमा उनलाई स्मरण गर्दै नेपालको संविधान निर्माण र संसदीय व्यवस्थालाई सिर्जनात्मक तथा रचनात्मक भूमिका निर्वाह गरेको व्यक्तित्व गुमाउनुपरेको उल्लेख गरे।

उनले भने, “नेपालको संसदीय प्रणालीलाई जीवन्त राख्न र संविधान निर्माणका लागि खेलेको भूमिका नेपालीले सधैँ सम्झिने छन् ।” यस्तै उनले मङ्गलबार मकवानपुरको मनहरी गाउँपालिका–७ युनाइटेड बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने १२ वर्षीया रञ्जिता गुरुङ घर फर्किने क्रममा बाढीमा परेर ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरे ।

सांसद शान्ति परियारले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसका अवसरमा उनप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै मुलुकले एउटा महत्वपूर्ण व्यक्तित्व गुमाएको उल्लेख गरे ।

उपसभामुख इन्दिरा राना विवादमा मुछिएकाले उनलाई मार्ग प्रशस्त गर्न सांसद परियारले माग गरे। सांसद भगवती चौधरीले नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको ब्लड बैँक सञ्चालनमा बेथिति रहेको पाइएको भन्दै त्यसतर्फ सरकारको ध्यान जाओस भने ।

Ads

सम्बन्धित पोष्टहरू