बाँके । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन् । जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रङ्गीन बनेको छ ।
बाँकेको सदरमुकाम नेपालगञ्जको त्रिभुवनचोकदेखि बिपी चोक, त्रिवेणी मोडदेखि फुल्टेक्रा चोक लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएका छन् । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए।
उनका अनुसार नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।
“हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको हो”, धर्मगुरु मञ्जरीले भने, “उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।”
मोहम्मद जयन्तीको अवसरमा आज बिहानैदेखि (याली गरिने बाँकेका मुस्लिम अगुवा हलिम साहले जानकारी दिए । मुस्लिम समुदायको मोहम्मद जयन्ती उत्सव (यालीलाई व्यवस्थापन गर्न सहरमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए । बाँकेमा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर र जानकी गाउँपालिकाले मोहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्