Ads

व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको छ : उपप्रधानमन्त्री सिंह


काठमाडाैं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्नेगरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताएका छन् ।

उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए ।

‘जनचाहनाअनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ,’ धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसका अवसरमा मंगलबार भएको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भने ।

उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानुनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिए । साथै उनले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको उल्लेख गरे । ‘व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने भास्य बनाउन खोजिँदै छ, तर त्यस्तो होइन,’ उनले भने, ‘२०४६ सालअघि धनगढीकै अवस्था कस्तो थियो, अहिले कस्तो छ तुलना गरेर हेरौँ न, परिवर्तन त भएका छन् नि ।’

उनले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मक रूपमा अहिले राम्रो हुँदै गएको पनि बताए । ‘हामी आफैँले परिवर्तन महसुस गरेका छौँ भने त्यो अवस्थामा परिवर्तन भएको हो नि,’ उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू