Ads

रविलक्षित शंकरको टिप्पणी- जान्नेलाई छान्ने भन्नेहरूले कस्तो सुशासन दिन खोजेको हो ?


काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहकारीको रकम अपचलनमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई इङ्गित गर्दै कडा टिप्पणी गरेका छन् ।

पोखरेलले सञ्जालमा स्टाटस लेख्दै कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र आएको पैसाको दायित्वबारे जानकारी नै नराखी कसरी सेयर होल्डर बन्न सक्छ भन्दै प्रश्न गरेका छन् ।

उनले नाम नलिइकन लामिछानेतर्फ लक्षित गर्दै कम्पनीको दायित्व बिर्सेर आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्ति गलत रहेको टिप्पणी गरेका छन् ।

यति हुँदा पनि उसले गरेको त्यो काम दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भएको उनको टिप्पणी छ ।

‘कुनै कम्पनीको सिओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ,’ उनले लेखेका छन्, ‘अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’

सहकारीको रकम अपचलनसम्बन्धी विशेष छानबिन समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई रकम अपचलनमा दोषी ठहर गर्दै कारबाहीको सिफारिश गरेको छ । लामिछानेले गोर्खा मिडियाकै नाममा जारी भएको चेकमा हस्ताक्षर गरेर तलब एवं कार्यालय सञ्चालनका लागि पैसा निकासा गराएको पाइएको छ । तर, लामिछानेसहित रास्वपा नेताहरूले भने उनले क्लिन चिट पाएको भन्दै अपव्याख्या गरिरहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू