काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान खुमलटारमै पुगेर मिश्रले प्रचण्डलाई भेटेका हुन् ।
भेटमा आफूले ‘देश विस्फोटनको अवस्थातिर उन्मुख रहेको भन्दै अब राजसंस्था पुनर्स्थापित नगर्ने हो भने तपाईंहरूको अग्रगमन बाँकी नरहने’ प्रचण्डलाई सुनाएको मिश्रले बताएका छन् ।
आफ्नो कुरा सुनेपछि प्रचण्डले लामो व्याख्या गरेको उनले उल्लेख गरेका छन् ।
जवाफमा प्रचण्डले पनि अहिलेकै स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगेको सुनाएको उनले दाबी गरेका छन् ।
‘यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म(प्रचण्ड) पनि पुगिसकेँ। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै मिश्रले लेखेका छन्, ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।’
यस्ता छन् प्रचण्डले मिश्रसँग राखेका सात कुरा:
१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु।
२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन्।
३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।
४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो।
५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो।
६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।
७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।
प्रतिक्रिया दिनुहोस्