Ads

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक


म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो ।

समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन् । यद्यपि बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ ।

लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो बस्ती प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले सम्पन्न छ । माटोको पर्खालभित्र रहेको सीमित यो ऐतिहासिक बस्ती पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङ पहिचान र विशेषता हो ।

लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य लाक्पा वाङदी गुरुङका अनुसार यो करिब छ सय वर्ष पुरानो बस्ती हो । ‘यस्तो बस्ती सायद कहीँकतै अस्तित्वमा नरहेकाले लोमान्थाङ विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो भन्ने हामी दाबी छ’, उनले भने, ‘मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ विश्वभरका मानिसहरुका लागि कौतुहलताले भरिएको गन्तव्य पनि हो ।’

माटोको पर्खालभित्र प्राचीन बस्ती

दुई सयभन्दा बढी घरधुरी रहेको लोमान्थाङ बस्ती माटो जमाएर बनाएको करिब दुई मिटर फराकिलो र आठ मिटर अग्लो पर्खालले घेरिएको छ । दुई सय ८० मिटर उत्तर–दक्षिण र एक सय ६० मिटर पूर्व–पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्ती प्रवेश गर्ने एउटै मात्र ढोका छ । पर्खाल बाहिरका बस्ती पछि बसेको हो ।

लोमान्थाङको पुरानो बस्तीलाई गुथाङ (वज्रसाधु महाकाल), डोल्मा ल्हाखाङ (तारा), पोतलिङ (अवलोकेश्वर) र ज्यथाङ (ज्याम्पा-मैत्रेय) गरी चार देवीदेवताको नामबाट चार टोलमा बाँडिएको छ । विसं १४९७ मा आमेपालले लोमान्थाङलाई स्वतन्त्र अधिराज्य घोषणगरी बस्तीको चारैतिर पर्खालले घेरी चार तले लोमान्थाङ दरबार बनाएका वडा सदस्य गुरुङले सुनाए ।

यहाँ लोवा समुदायका विष्ट, गुरुङ र दलित समुदायको बसोबास छ । माइला छोरा लामा र माइली छोरी भुमा बस्ने यहाँको चलन रहिआएको छ । संस्कारगत कार्यमा लामा र झुमाको भूमिका हुन्छ । व्यापार, पशुपालन र खेती किसानी यहाँका बासिन्दाको आम्दानीको स्रोत हो । पछिल्लो समय यहाँका बासिन्दाहरु जापान, युरोप, अमेरिका देश जानेक्रम बढेको छ ।

यहाँ कुनै पनि प्रकारको मुद्दा नभएका व्यक्तिलाई बुद्धिमान र ऋण नभएकालाई साहुका रुपमा चिनिन्छ । अधिकांश मुद्दा, झै–झगडा परिवार वा गाउँभित्रै मुखियाबाटै हुने गरेको छ । महिलाले बख्खुको अगाडि पाङ्देन र पछाडि केदेन लगाउँछन् । अगाडिपट्टिको पाङ्देन विवाहितले मात्र प्रयोग गर्छन् । विवाहको सङ्केत नै पाङ्देन हो । गाउँमा कसैको घर निर्माण गर्दा गाउँलेले दुई÷तीन दिन बिनाज्याला सहयोग गर्ने परम्परा अझै पनि कायमै छ ।

Ads

सम्बन्धित पोष्टहरू