Ads

राष्ट्रिय विपद्को घडीमा सुरक्षित भएर बस्न ऊर्जामन्त्रीको आग्रह


काठमाडौँ, । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीउधनको सुरक्षामा लाग्न आफू मातहतका निकायलाई आग्रह गरेका छन् । मन्त्री खड्काले आज एक प्रेस विज्ञप्ति जारी गरी बिहीबारदेखि मुलुकभर परेको अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै थप क्षति हुन नदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायलाई क्रियाशील रहन अनुरोध गरेको हो ।

“ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका सम्पूर्ण कार्यालय तथा कर्मचारी साथीहरूलाई यो विपत्को समयमा राहत तथा उद्धारको कार्यमा खटिन तथा जनताको जीउधनको सुरक्षामा अहोरात्र खटिन अनुरोध गर्दछु,” मन्त्री खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले अझै पनि निरन्तर वर्षा भइरहेको हुँदा प्रकोपको भय कायमै रहेकाले सुरक्षित भएर बस्न सबैलाई आग्रहसमेत गरे । मन्त्री खड्काले थप क्षतिलाई न्यूनीकरण गर्न र क्षति हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण मुलुकका अधिकांश भागमा बाढी र पहिराको प्रकोपले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । राष्ट्रिय राजमार्ग, सहायक मार्ग, पुल, तथा बस्तीलाई पहिरो एवम् बाढीले बगाएर अवरुद्ध भएका छन् । विकासको आधुनिक पूर्वधारका रूपमा रहेका जलविद्युत् आयोजनाहरूमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

मन्त्री खड्काले नेपालीहरूको महान् पर्व दसैँको पूर्वसन्ध्यामा आएको यो अकल्पनीय प्राकृतिक प्रकोपले आम नागरिकको दैनिक जीवनमा गम्भीर असर परेको बताए । उनले आम नागरिक हरुलाई सुरक्षित स्थानमा बस्न साथै बाढी डुबान नहुने उच्च स्थानमा गएर बसिदिन आग्रह गरेका छन् ।

मन्त्री खड्काले यस विषम परिस्थितिमा सुरक्षाका तीनवटै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा जिल्ला प्रशासन कार्यालय र सरकारी कार्यालयका कर्मचारीहरूलाई राहत तथा उद्धार र प्रतिकार्यमा अहोरात्र खटिनसमेत आग्रह गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू