काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाको मिडिया कभरेज राम्रो छ । उनले बोलेका हर भाषण समाचार बन्छन् ।
२०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति भएयता थापाको राजनीतिमा कतै पनि ब्रेक लागेको छैन । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले रोक्दा थापा नेपाल विद्यार्थी संघको सभापति हुनबाट रोकिए । अन्यथा थापाले राजनीतिक मोर्चामा कतै पनि रोकिनुपरेको छैन ।
पार्टीको १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा पराजित भए पनि १४ औं महाधिवेशनमा शेखर कोइराला समूहमा पुगेर फाइदा उठाइछाडे । अर्थात् गएको चौधौं महाधिवेशनमा थापाले पदाधिकारीमा सर्वाधिक मत ३०२३ सहित महामन्त्रीमा ‘इन्ट्री’ गरे ।
गगन गठबन्धन निर्माणमा होस् वा चुनावी मैदानमा मिडियालाई वरिपरि राखिरहेका छन् ।
गगनको प्रचारमुखी टिममा ठूलै समूहमा खटिएको छ । २०६२/६३ को आन्दोलनदेखि मिडियालाई पछि लगाएका गगनको प्रचार टिम समकालिन युवा नेताहरुमध्ये व्यवस्थित छ । स्वकीय सचिव प्रताप पौडेल, डिल्लीराम सुवेदीदेखि कांग्रेस निकट प्रेस युनियनमा रहेका, सोसल मिडिया, न्यू टेक्नोलोजीका विज्ञ आफ्नो टिममा छन् ।
चुनावी मोर्चामा दोस्रोपटक कठीन अवस्थामा रहेका गगन अन्तिम समयमा ‘एग्रेसिभ मुभ’ गरिरहेका छन् । मत संख्या, संगठनका हिसाबले प्रतिस्पर्धी एमाले नेता डा. राजन भट्टराईभन्दा गगनको तुफान बढी छ– प्रचारमा ।
वाककलाका कारण राजनीतिमा छाइरहने गगनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याएका छन् । आफूमात्र होइन, दुईपटक चुनावमा पराजित भएर तेस्रोपटक अर्को कठीन प्रतिस्पर्धामा रहेका विश्वप्रकाश शर्मालाई प्रस्तावकसमेत बनाइसकेका छन् ।
गगनले भनेजस्तो भावी प्रधानमन्त्रीको बाटो त्यति सहज देखिँदैन । ७८ वर्षीय रामचन्द्र पौडेल १७ पटक प्रधानमन्त्रीको उम्मेदवार हुँदा पनि कांग्रेसमा एक चान्स पाएका छैनन् । सुशील कोइरालाले जीवनको उत्तरार्धमा प्रधानमन्त्री पाए । पार्टी र अब बन्ने संसदीय दलमा अहिले नै स्पष्ट बहुमतमा देखिएका शेरबहादुर देउवाले थपक्कै गगनलाई प्रधानमन्त्री पद किस्तीमा राखेर देलान् भन्ने विश्वास गर्न सकिँदैन ।
अब केही तथ्यमा पनि हेरौं–
एकः नेपाली कांग्रेसका समानुपातिक लिस्टमा देउवाले पत्नी, आफ्नो सचिवालय र कडा गुटीयालाई सुरक्षित गरेका छन् । अर्थात् सूचीमा सबै क्लस्टरमा अधिकांश देउवापक्षीय छन् । अझ सूचीमै गगनसमेत आबद्ध रहेको शेखर कोइराला समूहका पुगनपुग २९ प्रतिशत छन् । त्यो पनि शेखरको अडानले थपिएका हुन् । अत्यथा १५ प्रतिशतभन्दा कम थिए । प्रत्यक्षमा पनि ३० प्रतिशतभन्दा कम कोइराला समूहबाट उम्मेदवार भएका छन् । जीतको रेसियो करिव करिव टिकट पाएअनुसार नै हुने निश्चित छ ।
दुईः शेखर कोइराला समूहबाट संसदीय दलको नेताका प्रतिस्पर्धी स्वयं कोइराला नै हुन् । उनी हारिहालेको खण्डमा धनराज गुरुङ दाबेदार छन् । उनी पार्टी उपसभापति हुन् । शेखर, गगन जति सहज अवस्थामा छन्, त्यो भन्दा सहज अवस्थामा धनराज छन् । अर्कोकुरा शेरबहादुर देउवा दलको नेतामा भिड्दा अर्को दाबेदार रामचन्द्र पौडेल नै हुन्छन्, त्यसपछिको सूची त लामो नै छ । प्रकाशमान सिंह, सशांक कोइराला, सुजाता कोइराला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्कासम्म छन् ।
तीनः भावी प्रधानमन्त्री केवल कांग्रेसको निर्णयमात्र होइन, माओवादीको समेत समर्थनमा टुंगो लाग्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गोरखा बसाइँ सराइ केवल सोझो जीतका लागि मात्र होइन भन्ने बुझ्नुपर्छ । कांग्रेसबाट पार नलागे एमालेको समेत समर्थनमा दाहाल सुरुमै प्रधानमन्त्री हुने रोडम्यापमा छन् । त्यसो भए गगनको ‘प्रधानमन्त्री स्टन्ट’ तुहिने निश्चित छ । प्रचण्डले माओवादीमा कति खेल्छन् भन्ने त तनहुँमा आइतबार गरेको भाषणबाटै प्रष्ट भएको छ । उनले सांकेतिकरुपमा रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्री बनाएका छन् ।
र अन्तिमः गगन प्रधानमन्त्रीमा आकांक्षा राख्ने आधा दर्जन कांग्रेसी नेतामध्ये सबैभन्दा कमजोर हुन् । त्यहि बुझेर झापाली विश्वप्रकाश शर्माले समर्थन जनाइदिएका हुन् भन्ने हल्ला कांग्रेस वृत्तमा छ ।
के भन्छन् कांग्रेस नेताहरु
नेपाली कांग्रेसका प्रभावशाली नेता लोकेश ढकालले पार्टी महामन्त्री गगन थापाको प्रधानमन्त्री बन्ने कुरा मतदाता प्रभावित गर्ने स्टन्टबाजीमात्रै भएको टिप्पणी गरेका छन् । उनी भन्छन्, ‘नेपाली कांग्रेसमा प्रधानमन्त्रीमा आकांक्षा राख्ने ६ जना मध्ये सबैभन्दा कमजोर पात्र हुन् । आफू रेडजोनमा परेको स्पष्ट संकेतपछि प्रधानमन्त्रीको प्रचार बढी गरेका छन् । त्यो अहिल्यै सम्भव छैन ।’
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत कांग्रेसबाट भावी प्रधानमन्त्रीमा शेरबहादुर देउवा एकमात्र निर्विकल्प पात्र रहेको बताए । ‘देउवालाई चुनावपछि प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन,’ उनी भन्छन्, ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र देउवाले नेतृत्व गर्ने कुरामा दुईमत छैन । कांग्रेसभित्र पनि देउवालाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन ।’
के भन्छन् राजन ?
गगन थापाका प्रतिस्पर्धी एमाले नेता राजन भट्टराई भावी प्रधानमन्त्रीको प्रचारबारे भन्छन्–
गगनजीको समूहबाट १८/१९ प्रतिशतले उम्मेदवारी दिनुभएको छ । ५० प्रतिशतले जितेपनि १० जनाले जित्लान् । अनि २७५ मा १३८ जना चाहिन्छ। आफ्ना समूहका १० जना मान्छे भएका व्यक्तिले भनेको पत्याउने पनि कस्ता ? यस्ता चुनावी स्टण्टरु गरेर जनतालाई भूलभुलैयामा पार्ने दिन गए जस्तो लाग्छ ।
गगनको स्पष्टोक्ति
गगन थापाले भने आफ्नो प्रधानमन्त्रीको दाबीलाई हावादारी भन्नेहरुप्रति संकेत गर्दै भनेका छन्–
प्रधानमन्त्रीका लागि आश्वासन बाँड्ने भनिएको छ त्यसलाई बन्द गरौं । म लडेर यहाँ आइपुगेको हुँ । सांसद भइसकेपछि जुन दिन संसदीय दलको चुनाव हुन्छ सबैभन्दा पहिला मेरो उम्मेदवारी पर्छ ।संसदीय दलको नेता लडेर त्यसपछि प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने हो ।
प्रतिक्रिया दिनुहोस्