काठमाडौं । हिमालय एयरलायन्सले पोखराबाट चीनको ल्हासा उडानको तयारी थालेको छ । हिमालय एयरलाइन्स १० वर्षअघि नेपाली र चिनियाँको संयुक्त लगानीमा स्थापना भएको निजी हवाइसेवा कम्पनी हो ।
हिमालयले १ सय ४४ सिट क्षमता भएको एयरबस ए–३१९ मार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासास्थित ल्हासा गोंग्गार अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको तयारी छ ।
हिमालयका एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले पोखरा–ल्हासा सम्भावना देखेर उडानको तयारी थालेको बताए । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमतिका लागि छलफल भइसकेकाे जनाइएकाे छ ।
तिब्बतस्थित ल्हासा गोंग्गार अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पोखराबाट उडान गर्न प्रक्रियागत काम थालेको र अब अनुमतिको पर्खाईमा रहेको उनले बताए ।
हिमालयले यो रुटमा उडान गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पहिलो उडान ल्हासा गर्ने अनि त्यहाँबाट पोखरा आएर विश्राम गर्दै भोलिपल्ट पोखराबाट ल्हासा पुगेर काठमाडौं फर्किने योजना बनाएको उपाध्यक्ष श्रेष्ठले बताए । हिमालयले यो रुटको उडान समय १ घन्टा १५ मिनेट हाराहारी हुने जनाएको छ ।
हिमालय एयरलायन्सले यो रुटमा काठमाडौंबाट गत वर्ष डिसेम्बरमा सातामा एकदिन उडान गरेको थियो । अहिले हिमालयले चीनको बेइजिङ, छोङछिङ, छिन्दाओ र सांघाईमा उडान संचालनको अनुमति पाएको छ । तर, यात्रुको माग न्यून भएकाले सबै रुटमा नियमित उडान भइरहेको छैन ।
चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक निमन्त्रणामा आगामी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचदिने चीन भ्रमणमा हिमालय एयरलायन्सले एयरबस ए३२० मार्फत ‘विशेष उडान’ गर्दैछ । स्रोतका अनुसार हिमालयको उक्त जहाज प्रधानमन्त्री ओलीको टोलीलाई ल्याएर पाँचौं दिनमा फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्