काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमा लिइएका कुनै पनि व्यवस्था परिवर्तन नगरी पहिलो त्रैमासिक समीक्षा सार्वजनकि गरेको हो ।
मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएको थियो । पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ ।
कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य थियो । ०८१ असोज मसान्तमा १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको केन्द्रीय बैंकले जनाएको छ ।
मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ ।
पूर्णपाठ पढ्नोस्–
प्रतिक्रिया दिनुहोस्