काठमाडौं । मानव बेचबिखनबिरुद्ध अभियान चलाउन र मानव बेचबिखनमा परेकाहरुलाई न्यायको पहुँचसम्म पुर्याउने उद्देश्यले मानव बेचबिखन प्रभावितहरुको राष्ट्रिय महासङ्घ स्थापना गरिएको छ । मानव बेचबिखन तथा एचआईभी रोकथामको क्षेत्रमा विगत नौ वर्षदेखि सक्रिय शान्ति फाउण्डेशनको पहलमा मानव बेचबिखनविरुद्ध मानव बेचबिखन रोकथाम, मानव बेचबिखन प्रभावितहरुको संरक्षण, बेचबिखनकर्ताहरुलाई अभियोजनलगायत कार्यमा साझेदारी गर्ने उद्देश्यले महासंघ स्थापना गरिएको सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म) अन्तर्गत १५ औं दिनको अवसरमा यस महासङ्घ स्थापनाको घोषणा गरिएको अध्यक्ष सञ्जमाया तामाङले पत्रकारहरुलाई जानकारी गराउनु भयो । मानव बेचबिखनको क्षेत्रमा कार्यरत १४ सङ्घ–संस्थाबीच एक सञ्जाल निर्माण गरी महासङ्घ स्थापना गरिएको हो। समन्वयात्मक ढङ्गले मानव बेचबिखनविरुद्ध, मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि महासंघ स्थापना गरिएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष तामाङले विज्ञप्ति सार्वजनिक गर्दै भन्नुभयो ‘मानव बेचबिखनबाट सबैभन्दा बढी प्रभावित बालिका, किशोरी तथा महिला पर्छन् । लैङ्गिक हिंसामध्ये मानव बेचबिखन एक यस्तो हिंसा हो जसबाट प्रभावितहरुले जीवनपर्यन्त सामाजिक विभेद र लाञ्छना भोग्नु पर्छ । नेपालले पालेर्मो आलेखको अनुमोदन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनमा संशोधन गरेको छ । यस्तै मानव बेचबिखनविरुद्ध गैरसरकारी सङ्घ–संस्थाले सरकारसँगको समन्वय र सहकार्यमा जनचेतना जगाउने कार्य गर्दैआएको छ । सूचना र सञ्चार प्रविधिमा भएको तीब्र विकासका कारण मानव बेचबिखन नियन्त्रणका चुनौतीहरु पनि बदलिएका छन् । कोभिड–१९ को कारणले भएको बन्दाबन्दीले र आर्थिक कारणले गर्दा मानव बेचविखनकर्ताहरुले सङ्कटाभिमुख बालिका, किशोरी तथा महिलालाई आकर्षित गर्न र भ्रामक बनाउन सामाजिक सञ्जाल र मोबाइल प्रविधिहरू बढ्दो रूपमा प्रयोग गरेको देखिएको छ ।’
अध्यक्ष तामाङले मानव बेचबिखनमा परेकाहरुको नेतृत्व तथा पीडित केन्द्रित कार्यक्रमहरुले मात्र मानव बेचबिखनको समस्या समाधान गर्न सक्छ भन्ने यस महासङ्घको विश्वास रहेको पनि प्रष्ट पार्नुभयो । उहाँले महासङ्घले मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय समिति र तीनै तहका सरकारसँगको समन्वयमा चेतना अभिवृद्धि, सामुदायिक संलग्नता र रूपान्तरणात्मक सशक्तीकरण गरिरहेको बताउनु भयो । पत्रकार सम्मेलनमा महासंघकी महासचिव उमा बुढाथोकी, कोषाध्यक्ष अमृता अधिकारी, महासंघका संस्थापक सदस्य प्रेम बिक, रमिला योञ्जनलगायले बोल्नु भएको थियो ।
पत्रकार सम्मेलनमा सुशीलाले भनिन्, न बस्ने ठाउँ छ, न मर्ने ठाउँ नै
म्याग्दीको बेनि नगरपालिका घर भएकी सुशीला क्षेत्रीले आफू मानव बेचविखनमा परेको सुनाउनु भयो । विवाह गर्नुभन्दा अघि पनि आफन्तको घरमा बस्दा उहाँले कठोर यातना पाउनु भयो । बुवाको निधन भएको र आमा पनि अपांगता भएकी उनलाई एक युवाले १३ वर्षमै जवर्जस्ती विवाह गरेका थिए । बाल बिवाह भएपछि ६ महिनासम्म सुशीलालाई राम्रै व्यवहार गरे । त्यसपछि भने उहाँको नारकीय जीवन सुरु भयो । कहिले दाइजोको निहुँमा त कहिले विभिन्न बहानामा उहाँलाई सासुलगायतले चरम यातना दिन थाले । १४ वर्षको उमेरमा छोरालाई जन्म दिएकी सुशीलालाई १५ वर्षको उमेरमा श्रीमान् तुलबहादुर क्षेत्रीले १७ महिनाको छोरासहित जबर्जस्ती भारत लगे । श्रीमान्ले आफूलाई भारतम बेचेर फर्किएको सुशीलाले आरोप लगाउनु भयो । सुशीलाका अहिले भारतमा बेचबिखनमा परेर यौन जर्वजस्तीमा परेर जन्मिएका १४ वर्षिय १ छोरी र ८ बर्षिय १ छोरा छन् । अनि नेपालमै श्रीमानतर्फबाट जन्मिएका १ छोरा जवान भइसकेका छन् ।
कसैको सहयोगमा नेपाल फर्किएपछि अहिले मानव बेचबिखनविरुद्ध मानव बेचबिखन प्रभावितहरुको राष्ट्रिय महासङ्घमा उहाँले न्यायको पहल गरिदिन हारगुहार गरिरहनु भएको छ । अहिले आफूलाई नागरिकताको आवश्यकता परेकोले सहयोग गर्न सुशीलाले आग्रह गर्नुभयो । यस्तै जन्मदर्ता नहुँदा एक छोरा, एक छोरीले पढ्न र नागरिकता पाउन नसक्ने अवस्था भएको गुनासो गर्नुभयो । सुशीलाले रुँदै पत्रकारमाझ भन्नुभयो, न मर्ने ठाउँ छ, न बस्ने ठाउँ छ । मलाइ न्याय चाहिएको छ, सानो उमेरदेखि अहिलेसम्म पाएका यातना म व्यक्त गर्न सक्दिनँ । श्रीमान्ले भारत पुर्याएर म माथि अत्याचार भएको छ, न्यायका लागि पहल गरिदिनुस् ।
नेपाल अनि विश्वमा मानव बेचविखनमा परेकाको स्थिति कस्तो छ ?
महासंघले जारी गरेको विज्ञप्तिअनुसार नेपालमा १९ लाख १४ हजार मानिस मानव बेचबिखनको जोखिममा छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको आर्थिक वर्ष २०७९÷०८० को प्रतिवेदनमा जम्मा २३० जना बेचबिखनमा परेको उल्लेख छ । तर राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९ ले आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ मा. करिब ४० हजार ३०० जना बेचबिखनमा परेको उल्लेख छ
विश्व श्रम सङ्गठनको २०२१ को तथ्याङ्क अनुसार विश्वभरी ४ करोड ९६ लाख मानिसहरु आधुनिक दासत्वमा वाँचिरहेका छन् । २ करोड ७६ लाख जब्बरजस्ती श्रममा छन् र तीमध्ये १ करोड ७३ लाख निजी क्षेत्रमा शोषणमा परेका छन् । २ करोड २० लाखको जब्बरजस्ती विवाह भएको छ । ७३ लाख जब्बरजस्ती व्यावसायिक यौन शोषणमा परेका छन् । साथै, सन् २०२३ को ग्लोबल स्लेभरी इन्डेक्सको प्रतिवेदन अनुसार नेपालमा ९७ हजार मानिस कुनै न कुनै प्रकारको आधुनिक दासत्वमा बाँचिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्