Ads

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


काठमाडाैं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको छ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविका लागि पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिएपछि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले  जानकारी दिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

उनलाई कास्कीसहित रुपन्देही, काठमाडौं, चितवन र पर्सासमेत लगेर बयान लिइएको थियो । कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।

यी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रूपैयाँ गएको देखिन्छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविलाई सहकारीको रकम अपचलनमा मतियार बनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू