Ads

स्थानीयस्तरमा उत्पादित मासले बजार पाएपछि कृषक उत्साहित


दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा अग्लो (दुई हजार एक सय ३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित मासले स्थानीयस्तरमै बजार पाएपछि यहाँका कृषक उत्साहित भएका हुन् ।

छिम्केश्वरीस्थित बगई, खेउसिङमा उत्पादित मास आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारबाट सहज रूपमा बिक्री भइरहेको छ । यहाँ कृषकलाई मागअनुसार मास पुर्याउनै हम्मेहम्मे भइरहेको छ ।

खेउसिङका कृषक कमानसिंह गुरुङले विगत वर्षहरूमा बजार खोज्दै हिँड्नु परे पनि यसपटक यहाँ उत्पादित मासले बजार पाएपछि आफूहरू खुसी भएको बताए। उनले भने, “विगतमा मास बिक्रीका लागि भौँतारिनुपथ्र्यो, अहिले त सहज रूपमा बिक्री गर्न पाउँदा सजिलो भयो ।”आँबुखैरेनी गाउँपालिकामा विगत एक वर्षदेखि सञ्चालनमा आएको हाटबजारले कृषि सामग्री बिक्री वितरण गर्न सजिलो भएको उनको भनाइ छ ।

बगईका कृषक सानुमाया भुजेलले मासले बजार पाउन थालेपछि यस खेतीतर्फ झनै आकर्षण बढ्ने बताइन् । “बजार नपाउँदा कृषक खेतीतर्फ प्रोत्साहित हुँदैनन् तर जब उत्पादित सामग्रीले बजार पाउँछ त्यसले आकर्षण बढ्छ”, उनले भनिन्, “गाउँपालिकाको पहलमा सहज रूपमा मास बिक्री गर्न पाउँदा सजिलो भएको छ ।”

आँबुखैरेनीस्थित हाटबजारमा छ हजार ७५ किलोग्राम मास बिक्री भएको छ । पहिलो चरणमा चार हजार दुई सय र दोस्रो चरणमा एक हजार आठ सय ७५ किलो मास बिक्री भएको हो । त्यस क्रममा कृषकले रु १२ लाख १५ हजार आम्दानी गर्न सफल भएका छन् ।

पहिलो चरणमा रु आठ लाख ४० हजार र दोस्रो चरणमा रु तीन लाख ७५ हजारको मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनका अनुसार प्रतिकिलो रु दुई सयमा मास बिक्री गरिएको छ ।

“माग धेरै हुँदा सबैलाई पुर्याउन सकिएको छैन”, केसीले  भने ।

गाउँपालिकाले हाटबजारसम्म ढुवानीका लागि सवारीसाधनको व्यवस्थापन गरिदिएको थियो । यस्तै, मास उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २५ अनुदान दिने व्यवस्था मिलाइएको केसीले बताए।

गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई जोड्ने काम गरेको छ । हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोका रूपमा विकास भएको कृषकहरूले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू