काठमाडौं । रौतहतको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गर्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । गएराति टिपरको ठक्करबाट एकजना स्थानीयको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका छन् । प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै प्रदर्शनकारीहरुले प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका छन् ।
गएराती रौतहटको फतुवा विजयपुर–११ हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो ।
उनको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा, ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले हतार हतारमा घटनालगत्तै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको पीडित परिवारको आरोप छ ।
तर प्रहरी निरीक्षक विश्वकर्माले आफू कसैको प्रभावमा नपरेको बताएका छन् ।
पीडित परिवारसँगै सयौंको संख्यामा गाउँलेहरुले सोमबार बिहानैदेखि विजयपुरमा प्रदर्शन गर्दै बिहान ११ प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका थिए । यस क्रममा २ जना प्रहरी घाइते भएको तथा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।
प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी मुक्ति पटेलको टाउको फुटेको छ । रौतहट प्रहरी प्रमुख एवं एसपी विनोद घिमिरेले दुर्घटनामा संलग्न टिपर चालक पक्राउ परिसकेकाले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताएका छन् ।
आइतबार राति साढे ८ बजे बा ३०प ८११५ नम्बरको मोटरसाइकललाई गुगल निर्माण सेवाको ना८ख ४२०२ नम्बरको टिपरले ठक्कर दिदा चौधरीको मृत्यु भएको थियो ।
दुर्घटना लगत्तै फरार टिपर चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्