काठमाडाैं । ग्लोबल आईएमई बैंकले ‘ग्लोबल हाटबजार’ सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त हाटबजारको उद्घाटन गरेका हुन् ।
आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ‘ग्लोबल हाटबजार’ सञ्चालनमा ल्याएको जनाएको छ ।
उद्यमीको उत्पादन, ग्लोबल आईएमईको प्रोत्साहन– भन्ने नाराका साथ बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौंको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाटबजार सञ्चालन गरिनेछ बैंकले जनाएको छ ।
सो अवसरमा सीईओ रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमको बजारमा पहुँच विस्तार गर्नु हाटबजारको प्रमुख उद्देश्य रहेको बताए । हाटबजारले अरग्यानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने उनले बताए ।
‘यो हाम्रो सानो तथा सिम्बोलिक अभियान हो । यसैगरी, हाम्रा अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ । हाम्रो अर्थतन्त्रको आधार यिनै लघु, साना तथा मझौला उद्यम नै हुन् । यसका साथै, आफ्ना ऋणीले उत्पादन गरेका वस्तु खपत गर्ने तथा ती उत्पादनलाई प्रवर्द्धन गर्नु बैंकको पनि दायित्व हो,, उनले भने ।
उनले हाटबजारमा विषादीरहित कृषिउपज, रैथाने बाली तथा सोअनुरुपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवालगायतका सामग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिने जानकारी दिए ।
आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्