काठमाडाैं । जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने इच्छा देखाउँदै एक चिनियाँ टोली कोशी प्रदेश आइपुगेको छ ।
टोलीले शुक्रबार विराटनगरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग भेटघाट गरेको छ ।
भेटका चिनियाँ टोलीले लगानीको वातावरण बने आफूहरू पर्यटन र जलविद्युत् क्षेत्रमा काम गर्न इच्छुक रहेको बताएको थियो ।
छलफलमा मुख्यमन्त्री कार्कीले लगानीको वातावरण बनाउन सरकार तयार रहेको बताएका थिए ।
चिनियाँ टोलीले बिहीबार प्रदेशका मन्त्री र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासँग भेट गरेको थियो ।
चाइना पावर कम्पनी र सिने हाइड्रो कम्पनीका तर्फबाट वाङ झि झाङको नेतृत्वमा ११ सदस्यीय टोली बिहीबार विराटनगर आइपुगेको हो ।
भेटघाटमा झाङले नेपालमा लगानी गर्न चाहेको बताएका थिए ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीका अनुसार चिनिया टोलीले पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका थिए ।
‘लगानीका लागि वातावरण बनाउन सहयोग गर्नुपर्यो भन्ने उहाँहरूको कुरा थियो । हाम्रो तर्फबाट लगानी गर्नुहोस्, हामी सहजीकरण गर्छौं भन्यौं । उनीहरू खासगरी जलस्रोत र पर्यटनको क्षेत्रमा काम गर्न इच्छुक छन्,’ छलफलपछि आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीले भने ।
कोशी प्रदेशको १० दिने भ्रमणमा रहेको चिनियाँ टोली संखुवासभाको किमाथाङ्कासम्म पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्