काठमाडौं । मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार एक कार्यक्रबीच टोलीको बिदाइ गरेको हो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्मासहितले टोलीको बिदाइ गरे हुन् ।
कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे । मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भएपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे । क्यानले पछिल्लो समय गर्दै आएको कामप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्नका लागि विद्यालय हरुसँग पनि सहकार्य गर्न सकिने उनले बताए ।
कार्यक्रममा बोल्दै यू–१९ कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
‘एसिया कपमा राम्रो खेलेर पाकिस्तानलाई हरायौं, अब विश्वकपमा पनि इतिहास बनाउने प्रयास गर्ने छौं, राम्रो खेल्यो भने जुन कुरा पनि सम्भव छ’, पूजाले भनिन् । नेपाली यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्