काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेको बताएका छन्।
बन्द भएका उद्योगलाई पनि नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने उनले बताए।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घको रजत जयन्तीका अवसरमा शुक्रबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपदका ठाउँ आफै बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताए। सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको उनको भनाइ छ।
‘हामीसँग आठ वटा औद्योगिक क्षेत्र छन्। धौबादी फलाम खानी र मल कारखाना खोल्दैछौँ। दैलेखमा ग्यास उत्पादन हुँदैछ। ध्वस्त भएको उद्योगले पुनःजीवन पाउँदैछन्। ती सबैमा ऊर्जाका खपत हुनेछ,’ उनले भने, ‘ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ। यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ। देशलाई आधुनिकीकरण र विकास गर्दै अध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु। तपाईंहरू लगानी गर्नुस्, लगानी खोन्दै अरूलाई खोला दिइरहनु पर्दैन।’
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको बताए।
राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको बताए।
आगामी १५ दिनपछि हुने संसदको अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्